
काठमाडौं । असोज ३० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘आ बाट आमा २’का हरेक प्रचार सामग्रीलाई दर्शकले रुचाएका छन् । फिल्मका टिजर र गीतले युट्युबमा पाएको भ्यूजले पनि यसको पुष्टि गर्छ । टिजरले युट्युबमा रेकर्ड नै बनाइसकेको छ । दुई सातामा टिजरलाई ५२ लाखभन्दा बढीले हेरिसकेका छन् । नेपाली फिल्मको टिजरले पाएको यो अहिलेसम्मकै सर्वाधिक भ्यूज हो ।
फिल्मको टिजरसँगै ‘अचेल किन कान्छी’ बोलको गीतले पनि युट्युबमा लोभलाग्दो भ्यूज पाएको छ । रिलिजको एक सातामै गीतलाई ६० लाखभन्दा बढीले हेरिसकेका छन् । बुधबारबाट गीत युट्युबको नेपाल ट्रेन्डिङको पहिलो स्थानमा समेत उक्लिएको छ । यसले गीतको लोकप्रियता बढ्दै गएको देखाउँछ । गीतलाई प्रतिक्रिया पनि उत्साहजनक मिलेको छ ।
तर, रोचक कुरा के छ भने युट्युबमा गीतको भन्दा पल शाह र मलिका महतको जोडीको बढी चर्चा भइरहेको छ । युट्युबमा प्रायः प्रतिक्रिया उनीहरूको जोडीलाई लिएर छ । कतिले एकदमै सुहाएको जोडी भनेका छन् भने कतिले राजा−रानीको संज्ञा दिएका छन् । पल र मलिका म्युजिक भिडियोमा सर्वाधिक रुचाइएको जोडी भएकाले पनि दर्शकमा ठूलो उत्साह देखिएको हो ।
चन्द्र पन्तको निर्देशनमा बनेको यस फिल्ममा पल र मलिकासहित विपना थापा, स्व. प्रदीप रावत (गजनी भिलेन), आकाश श्रेष्ठ साइग्रेस पोखरेल, सविन श्रेष्ठ, गजित विष्ट, रिश्ता गुरुङ, निकिता आचार्य, नरेन खड्का, दीलिप अखेडा, बेगम नेपालीलगायतका कलाकारहरूको अभिनय रहेको छ । भारतीय कलाकार प्रदीपको यो अन्तिम नेपाली फिल्म हो ।

