Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपेन्द्रले २३ दिनमै सकाए ‘श्रीमान् श्रीमती’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2026/10/14

Dipendra Kumar Khanal

 

काठमाडौं । नेपालमा सबैभन्दा चाँडो फिल्मको छायांकन सकाउने निर्देशकको रूपमा चिनिन्छन्, दीपेन्द्र के. खनाल । उनले आफ्नो करिअरमा सबैभन्दा बढी खिचेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ मात्र हो । नभए उनले फिल्मको छायांकनमा महिना दिन पनि लगाउँदैनन् । उनले आफ्नो नयाँ फिल्म ‘श्रीमान् श्रीमती’को छायांकन पनि जम्मा २३ दिनमा सकाएका छन् ।

निर्देशक खनालले असोज ४ गतेबाट गुपचुप रूपमा फिल्मको छायांकन सुरु गरेका थिए । १८ दिनमा उनले गीतबाहेकका सम्पूर्ण दृश्य खिचेर सकाए । पाँच दिनमा दुईवटा गीतको छायांकन गरेपछि सोमबार फिल्म प्याकअप भएको हो । अब दसैंको विदा सकिएपछि फिल्मको पोस्ट प्रोडक्सनको काम सुरु हुने निर्देशक खनालले जानकारी दिए । 

श्रीमान्–श्रीमतीबीचको सम्बन्धमा आउने उतारचढावमा आधारित यस फिल्ममा खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य भूमिकामा छन् । ‘धनपति’ र ‘क्याप्टेन साब’पछि उनीहरूको यो तेस्रो सहकार्य हो । दुवै निर्देशक खनालका फिल्ममा बारम्बार दोहोरिने कलाकारमा पर्छन् । ‘श्रीमान्–श्रीमती’सहित खगेन्द्र र सुरक्षाले दीपेन्द्रसँग पाँचवटा फिल्ममा सहकार्य गरिसकेका छन् ।

पटकथा प्रडक्सन र टुकी आर्ट्सको प्रस्तुति रहेको फिल्मका निर्माता खगेन्द्र लामिछाने र दीपेन्द्र के. खनाल हुन् । लक्ष्मी गिरी र सुवास गजुरेलको पनि अभिनय रहेको फिल्मको कथा निर्देशक खनाल स्वयंको हो भने पटकथा र संवादमा उनलाई महेश दवाडीले सघाएका छन् । करण श्रेष्ठ (क्रेजी) कार्यकारी निर्माता रहेको फिल्मका छायाँकार कृष्ण बा. थापा हुन् ।