काठमाडौं । आगामी मंसिर ११ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘सारथी’को टिजर सार्वजनिक गरिएको छ । अभिनेत्री निरुता सिंहलाई केन्द्रमा राखिएको टिजरले फिल्मको कथावस्तु दर्साउने प्रयास गरेको छ । बच्चा रोएको आवाजसँगै सुरु हुने टिजरमा निरुता काखमा बच्चा लिएर आमाको जिम्मेवारी निभाइरहेकी देखिन्छिन् । उनको पैतला भने आगोले जलेर बीभत्स देखिन्छ ।
ग्रामीण महिलाको हुलियामा देखिएकी निरुता असह्य पीडा हुँदा पनि बच्चालाई स्तनपान गराइरहेको दृश्य टिजरमा समेटिएको छ । उनी दुखाइले दाँत किट्छिन्, तर काखको बच्चालाई भने न्यानो गरी सम्हालिरहन्छिन् । यसले एउटी आमाको ममता र त्यागलाई झल्काउँछ । टिजर हेर्दा फिल्मको कथा एउटी आमाको संघर्षमा केन्द्रित रहेको देखिन्छ ।
कुमार गजुरेलको निर्देशनमा बनेको यस फिल्ममा निरुतासहित उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, अनिता कुईकेल, गायत्री जोशी, कल्पना थापा, गिरी विश्वकर्मा, मदन थापा, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सन्ताप विश्वकर्मालगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ ।
सम्पादकको रूपमा परिचित तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रदीप श्रेष्ठ र प्रदीप रायमाझी हुन् । कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् भने अमीर केसी लाइन प्रोड्युसरको रूपमा छन् । फिल्ममा संकल्प भुजेलको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन तथा बाबुल गिरी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

