Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

१५ वर्षपछि ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्दै

फिल्मीखबर, काठमाडौं, 2026/10/12

the dirty picture 2

 

अभिनेत्री विद्या बालनको अभिनय करिअरकै चर्चित फिल्ममध्ये मानिन्छ, ‘द डर्टी पिक्चर’ । साउथ अभिनेत्री सिल्क स्मिताको जीवनबाट प्रेरित यस फिल्मले सन् २०११ मा भारतीय बक्स अफिसमा धमाका मच्चाएको थियो । १८ करोड भारुमा निर्माण भएको फिल्मले विश्वव्यापी ११७ करोड कमाइ गर्‍यो । फिल्मको ‘ओ ला ला’ गीत समेत निकै लोकप्रिय बन्यो ।

अब यो फिल्मको दोस्रो भाग निर्माण हुने भएको छ । यसको पुष्टि निर्माता एकता कपूर स्वयंले गरेकी हुन् । उनले फिल्मका लागि आफूसँग एउटा कथा रहेकी बताएकी छन् । उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘अब मैले निर्माण गर्न लागेको एउटा ठूलो फिल्म ‘द डर्टी पिक्चर २’ हो । म १५ वर्षपछि यसको योजना बनाउँदै छु । यसपटक मसँग भन्न चाहेको एउटा कथा छ ।’

एकताले ‘द डर्टी पिक्चर’मा जस्तै दोस्रो भागमा पनि कुनै चर्चित भारतीय अभिनेत्रीको जीवनलाई कथाको आधार बनाइने संकेत गरेकी छन् । यद्यपि, उनले पर्दामा ल्याउन चाहेको अभिनेत्री को हुन् भन्ने खुलाएकी छैनन् । यसबारे चाँडै घोषणा गरिने उनको भनाइ छ । उनले फिल्मलाई आगामी वर्ष (२०२७) प्रदर्शन गर्ने योजना बनाएकी छन् । 

मिलन लुथ्रियाको निर्देशनमा बनेको ‘द डर्टी पिक्चर’ले सिल्क स्मिताको लोकप्रियता, फिल्म उद्योगसँगको सम्बन्ध र यौनिकताप्रति समाजले राख्ने धारणाका कारण उनले भोग्नुपरेका चुनौतीलाई प्रस्तुत गरेको थियो । फिल्ममा विद्याले स्मिताको भूमिका निभाएकी थिइन् । यसबाट उनले राष्ट्रिय चलचित्र पुरस्कार र फिल्मफेयर अवार्ड समेत जितेकी थिइन् ।