Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कबड्डी ५’को ट्रेलर : नयाँ सोल्टिनीसँग बिहे, मैयाँसँग मिलन

फिल्मीखबर, काठमाडौं, 2026/10/13

dayahang rai

 

काठमाडौं । ‘कबड्डी’ भन्नासाथ दर्शकले सबैभन्दा बढी सम्झिने पात्र हुन्, काजी र मैयाँ । यो फिल्मको पहिलो दुई भागमा काजीले मैयाँलाई एकोहोरो प्रेम गरे । त्यसपछिका दुई भागमा काजीको जीवनमा नयाँ सोल्टिनीहरू आए । अब भने ‘कबड्डी ५’मा काजी र मैयाँको मिलन भएको छ । मंगलबार सार्वजनिक फिल्मको ट्रेलरले यसको खुलासा गरेको हो । 

चार मिनेटभन्दा लामो ट्रेलरमा धोका पाएर विरक्तिएका काजीको सपना र मैयाँको आगमनपछि आउने उतारचढावलाई देखाइएको छ । नयाँ सोल्टिनीसँग घरबार बसाएका काजीले मैयाँका लागि गर्ने त्याग नै ट्रेलरको मुख्य विषय हो । यसपटक काजीको जीवनमा अवरोध खडा गर्न विपिन कार्कीको आगमन भएको देखिन्छ । उनीहरूबीचको घम्साघम्सीले ट्रेलरलाई रोचक बनाएको छ ।

ट्रेलरको सुरुवातमा काजी आफ्नो जीवनको सत्य स्वीकार गरिरहेका देखिन्छन् । त्यसपछि उनी गाउँमै रिसोर्ट खोल्ने योजना बनाउँछन् । तर, बुवाले बिहेको अड्को थापेपछि काजी परिबन्दमा पर्छन् । बिहेपछि जब काजीको भेट मैयाँ र शान्ति मिससँग हुन्छ, त्यसपछि कथाले नयाँ मोड लिएको देखिन्छ । समग्रमा ट्रेलरले काजीको जीवनमा आउने उथलपुथलको झलक दिन्छ । 

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई, विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, पुष्कर गुरुङ, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, माओत्से गुरुङ, कमलमणि नेपाल, विष्णु मोक्‍तान, सुरज यादव, रमेश बज्राचार्य, ज्ञानु जोशीलगायतको अभिनय देख्न सकिनेछ । 

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्मातामा छन् । सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ । यो फिल्म दसैं विदाको अवसर पारेर टीकाको पर्सिपल्ट अर्थात् कात्तिक ६ गते प्रदर्शन हुँदैछ ।