Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुनील थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’को ट्रेलर सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2026/10/12

sunil thapa

 

काठमाडौं । पछिल्लो समय नेपाली फिल्मको ट्रेलर प्रदर्शनको संघारमा सार्वजनिक गर्ने ट्रेन्ड नै बनेको छ । यसपालि दसैंमा रिलिज हुने फिल्महरूले पनि त्यही शैली पछ्याएका छन् । तर, फिल्म ‘हिमालयन गोल्ड’को ट्रेलर भने डेढ महिनाअघि नै सार्वजनिक गरिएको छ । मंसिर ४ गतेदेखि प्रदर्शन हुने यो फिल्मको सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरियो । 

दुई मिनेटभन्दा लामो ट्रेलरले फिल्मको कथावस्तु र त्यसको सेटिङबारे जानकारी दिएको छ । यार्सागुम्बा टिप्न हिमाली क्षेत्र पुगेकी एक युवतीले सामना गर्ने चुनौतीलाई ट्रेलरमा देखाइएको छ । लुटेराको समूहसँग भेट भएपछि उनले आफूलाई कसरी जोगाउलिन् ? ट्रेलरले छाडेको मुख्य रहस्य यही हो । ट्रेलरमा छायांकन र ब्याकग्राउन्ड स्कोर प्रभावशाली देखिएको छ ।

ह्वाइट एलिफेन्ट मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुनील थापा, कर्मा शाक्य, मेनुका प्रधान, राहुल एन. मुखिया, परीक्षा लिम्बू, सजन थापा, अंकित खड्का, सुनिल तामाङ, सेविता अधिकारी, ऋषिकेश बस्याल, तेन्जिङ ठकुरीलगायतको अभिनय छ । यो सुनील थापाको अन्तिम नेपाली फिल्म हो । फिल्ममा उनी नकारात्मक भूमिकामा रहेको ट्रेलरले संकेत गर्छ । 

धीरज राजवंशीको निर्देशनमा बनेको यो फिल्म नेपाल र भारतमा एकसाथ रिलिज हुँदैछ । भारतमा फिल्मको वितरण अनिल थडानीको कम्पनी ‘एए फिल्म्स’ले गर्दैछ । केही साताअघि मुम्बईमा धीरज र अनिलबीच फिल्म वितरणसम्बन्धी सम्झौता भएको हो । यो कम्पनीले ‘बाहुबली’, ‘पुष्पा’, ‘आरआरआर’लगायत दुई सयभन्दा बढी भारतीय फिल्मको वितरण गरिसकेको छ ।

निर्देशक राजवंशीले भारतमा फिल्म नेपाली भाषामै रिलिज हुने जानकारी दिए । उनले भने, ‘हामीले यो फिल्मबाट भाषाको पर्खाल तोड्न खोजेका हौं । यसैले फिल्मलाई हिन्दीमा डब गर्दैनौं । फिल्मको जुन मर्म छ, त्यो नेपाली भाषामै बढी महसुस गर्न सकिने भएकाले भारतीय दर्शकलाई पनि नेपालीमै फिल्म देखाउँदैछौं । त्यसमा अंग्रेजी सबटाइटल भने हुन्छ ।’