Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चमेलीको पोइ’को व्यापार : नारायण त्रिपाठीको प्लेन खर्च पनि उठेन

फिल्मीखबर, काठमाडौं, 2026/10/13

Narayan Tripathi

 

यसपालि नेपाली फिल्मको व्यापारले निर्माताहरूलाई राम्रै ‘सरप्राइज’ दिइरहेको छ । एकातिर केही फिल्मले करोडौँको व्यापार गरेका छन् भने अर्कोतिर धेरैजसो फिल्म लाख र हजारमा सीमित छन् । यस वर्ष १० लाख पनि नकमाएका फिल्मको सूची निकै लामो बनिसकेको छ । अब त्यसमा असोज १६ गते प्रदर्शन भएको फिल्म ‘चमेलीको पोइ’ पनि थपिएको छ । 

अभिनेत्री सुरक्षा पन्त र अभिनेता मुकुन भुसालको मुख्य भूमिका रहेको यो फिल्मलाई निर्माताले भगवान् भरोसामै रिलिज गरेका थिए । अर्थात् प्रचार शून्यबराबर थियो । जसरी प्रचारमा निर्माताको चासो देखिएन, त्यसैगरी दर्शकले पनि फिल्म हेर्न चासो देखाएनन् । अन्ततः फिल्म वर्षको ठूलो डिजास्टरमध्ये एक बनेको छ । आइतबारसम्म फिल्मले साढे ५ लाख मात्र कमाएको छ । 

सबैभन्दा रोचक कुरा त के छ भने, फिल्मको प्रचारका लागि अमेरिकाबाट नेपाल आएका कलाकार नारायण त्रिपाठीको प्लेन टिकटको पैसा समेत उठ्न सकेको छैन । अहिले नेपाल र अमेरिकाको दोहोरो टिकट झन्डै ३ लाख रुपैयाँ पर्छ । फिल्मले भने जम्मा साढे ५ लाख कमायो । यसबाट हलको सेअर र वितरकको कमिसन काटिँदा निर्माताको हातमा २ लाख पनि पर्दैन ।

फिल्म फ्लप भएपछि कलाकार त्रिपाठी अमेरिका फर्किसकेका छन् । कुनै समय हास्य भूमिकामा निर्विकल्प मानिएका उनी यही फिल्मबाट दुई दशकपछि अभिनयमा फर्किएका हुन् । उनकै कारण पनि फिल्म चल्नेमा निर्माताको ठूलो विश्वास थियो । तर, उनलाई हेर्न हलमा दर्शक नै आइदिएनन् । न त उनको अभिनयकै सराहना भयो । अन्ततः उनी निराश हुँदै कर्मभूमि फर्किए । 

‘चमेलीको पोइ’को असफलताले सबैभन्दा ठूलो असर भने सुरक्षा र मुकुनको करिअरमा पारेको छ । पछिल्लो ६ वर्षमा सुरक्षाको यो नवौँ फ्लप फिल्म हो भने मुकुनको लगातार पाँचौँ फ्लप । सम्भवतः पछिल्लो समय कुनै कलाकारले भोगेको यो सबैभन्दा लामो असफलताको शृङ्खला हो । अब दुवैको करिअरले कुन मोड लिन्छ, त्यो हेर्न बाँकी छ ।