Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आ बाट आमा २’को ट्रेलर ग्लोबल ट्रेन्डिङमा, ‘कबड्डी ५’ कहाँ छ ?

फिल्मीखबर, काठमाडौं, 2026/10/14

kabbadi 5 and aa bata aama 2

 

काठमाडौं । यसपालिको दसैंका दुई फिल्म ‘आ बाट आमा २’ र ‘कबड्डी ५’बीच बक्स अफिसमा एक साताको अन्तरमा प्रतिस्पर्धा हुँदैछ । ‘आ बाट आमा २’ असोज ३० मा आउँदैछ भने ‘कबड्डी ५’ कात्तिक ६ मा । रिलिज नजिकिँदै गर्दा दुवै फिल्मले ट्रेलर सार्वजनिक गरिसकेका छन् । एक दिनको अन्तरमा रिलिज भएका दुवै ट्रेलरले युट्युबमा बलियो पकड बनाएका छन् । 

‘आ बाट आमा २’को ट्रेलर तीन दिनमा ३३ लाखभन्दा बढी भ्यूजसहित ग्लोबल ट्रेन्डिङमा परेको छ । मंगलबार ६८औँ स्थानमा रहेको ट्रेलर १५ मिनेटमै ४९औँ स्थानमा उक्लिएको थियो । यो समाचार तयार पार्दासम्म भने ट्रेलर १०२औँ स्थानमा छ । नेपाल (५), कुवेत (११), कतार (१४), दुबई (१७), साउदी अरब (१७) र मलेसिया (२०)मा समेत फिल्मको ट्रेलर ट्रेन्डिङमा परेको छ ।

‘कबड्डी ५’को ट्रेलर भने नेपालको युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा आइपुगेको छ । केही घन्टा ट्रेन्डिङको पहिलो स्थानमा समेत रहेको ट्रेलरलाई साढे ८ लाखभन्दा बढीले हेरिसकेका छन् । ट्रेलरलाई प्रतिक्रिया पनि उत्साहजनक मिलेको छ । कतिले काजीको बिहे भएकोमा खुसी व्यक्त गरेका छन् भने कतिले विपिन कार्कीको प्रवेशलाई लिएर उत्साह देखाएका छन् ।

चन्द्र पन्तको निर्देशनमा बनेको ‘आ बाट आमा २’मा विपना थापा, प्रदीप रावत, पल शाह, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, मलिका महत, निकिता आचार्य, रिश्ता गुरुङ, सविन श्रेष्ठ, गजित विष्ट, नरेन खड्का, दीलिप अखेडा, हेमराज अधिकारीलगायतका कलाकारहरूको अभिनय छ । फिल्मले आमा–छोराको सम्बन्धलाई केन्द्रमा राख्दै वैदेशिक रोजगारीको कथा प्रस्तुत गरेको छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको ‘कबड्डी ५’मा भने दयाहाङ राई, विपिन कार्की, रिश्मा गुरुङ, सिर्जना गुरुङ, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, पुष्कर गुरुङ, कविता आले, शिशिर बाङ्देल, माओत्से गुरुङलगायतको अभिनय छ । फिल्मले धोका पाएर विरक्तिएका काजीको सपना र मैयाँको आगमनपछि आउने उतारचढावलाई मुख्य विषय बनाएको छ । 

 

‘आ बाट आमा २’

 

 

‘कबड्डी ५’