
काठमाडौं । नवीन पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘बाकस’को शुभमुहूर्त गरिएको छ । नवरात्रिको अवसर पारेर मंगलबार ललितपुरको बंगलामुखी मन्दिरमा विशेष पूजाआजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । दसैंपछि छायांकन सुरु हुने फिल्मले वैदेशिक रोजगारीमा जानुपर्ने नेपालीको बाध्यता र त्यसले निम्त्याएको मानवीय कहरको कथा भन्नेछ ।
पीके इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यस फिल्ममा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, सुपला सपकोटा, ध्रुव कोइराला, पुष्कर राउत, विक्रम बुढाथोकी, हिउँवाला गौतम, रोहित श्रेष्ठ, विमल यादवलगायतको अभिनय रहनेछ । फिल्ममा वर्षा र महेश जोडीको रूपमा प्रस्तुत हुनेछन् । यो उनीहरूको पहिलो सहकार्य हो ।
सुजिता चौलागाईं निर्माता रहेको फिल्ममा राजन सिंह केसी र छत्र बहादुर खड्का सह-निर्मातामा छन् । कार्यकारी निर्माता धर्मेन्द्र पन्त हुन् । निर्देशक पन्त स्वयंको लेखन रहेको फिल्ममा महेश पौडेलको छायांकन, दीपक शर्मा र सनम पुरुष राईको संगीत, सियोन श्रेष्ठको कोरियोग्राफी तथा किरण दाहालको द्वन्द्व निर्देशन रहनेछ । फिल्मलाई अर्को वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

