Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘छ माया छपक्कै २’को गीतमा दीपकराजको विवाहेत्तर सम्बन्ध

फिल्मीखबर, काठमाडौं, 2026/10/07

Deepak Raj Giri, Keki Adhikari, Sanisha Bhattarai

 

दीपकराज गिरी र दीपाश्री निरौला समूहको सर्वाधिक सफल फ्रेन्चाइज ‘छक्का पञ्जा’को पहिलो र चौथो श्रृंखला विवाहेत्तर सम्बन्ध (जीवनसाथीबाहेक अन्यसँग प्रेम)मा आधारित थिए । अब सोही कथामा फिल्म ‘छ माया छपक्कै २’ निर्माण गरिएको छ । बुधबार सार्वजनिक ‘मायामा एक्सपायरी डेट हुँदैन’ गीतले फिल्मको कथासारबारे जानकारी दिएको हो ।  

गीतको भिडियोमा दीपकराज र केकी अधिकारीलाई श्रीमान्−श्रीमतीको रूपमा प्रस्तुत गरिएको छ । उनीहरू नवविवाहित जोडीजस्ता देखिन्छन् । भिडियोको बीचमा भने दीपक र सनिशा भट्टराईबीचको प्रेमलाई देखाइएको छ । केकी र सनिशा एकसाथ गर्भवती भएको दृश्य समेत भिडियोमा छ । यसबाट फिल्मको कथा विवाहेत्तर सम्बन्धमा आधारित रहेको प्रस्ट हुन्छ ।

सविन सुवेदी र सहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत छ । दीपक तिनै संगीतकार हुन्, जसले ‘छक्का पञ्जा’ श्रृंखलाका चर्चित गीतहरू ‘देखन चम्पा’, ‘पहिलो नम्बरमा’ र ‘दर्शन सलाम’ तयार पारेका थिए । त्यसैले ‘मायामा एक्सपायरी डेट हुँदैन’ पनि लोकप्रिय हुने अपेक्षा गरिएको छ । भिडियोको कोरियोग्राफी भने किरण थापाले गरेका हुन् ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको फिल्ममा दीपक, केकी र सनिशासहित निर्मल शर्मा, कर्मा, जितु नेपाल, रिहान गिरीलगायतको अभिनय छ । केही दिनअघि अमेरिकाबाट नेपाल आएका केदार घिमिरे (माग्ने बुढा)ले पनि फिल्ममा अभिनय गरेका छन् । उनको भागको छायांकन यसै साता काठमाडौंमा गरिएको हो । फिल्मलाई रोहित अधिकारीले निर्माण गरेका हुन् ।