यही शुक्रबार (२३ असोज)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को ‘भाग्यले हो कि’ बोलको गीत सार्वजनिक गरिएको छ । वियोगान्त भावको गीतमा रचना रिमालको स्वर रहेको छ भने शब्द सुरेन्द्र रानाको हो । कर्णराज गिरीले गीतमा संगीत दिएका छन् । गीतले आफ्नो जिन्दगीदेखि निराश महिलाको भावनालाई प्रस्तुत गरेको छ ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्काको वैवाहिक जीवनमा आएको उतारचढावलाई देखाइएको छ । विवाहपछि पनि सिन्दूर र चुरा लगाउन नपाउँदाको मनोभावलाई उनको पात्रमार्फत प्रस्तुत गरिएको छ । भिडियोमा फिल्मका दुई मुख्य कलाकार सुशील सिटौला र रिस्ता बस्नेत पनि देखिएका छन् ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा सुशील पोखरेल, उत्तम केसी, अंशु महर्जन, पुष्कर राउत, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने, सृष्टि खड्का, प्रीसा ढुङ्गानालगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । विनयराज पौडेलले फिल्मको निर्देशन गरेका हुन् ।
सोनी थापा (ढुङ्गाना) प्रस्तुतकर्ता रहेको फिल्ममा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना निर्माताको रूपमा छन् । कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन् । फिल्ममा उग्रसेन ढुङ्गानाको कथा, अभिमन्यु निरवी र विनयराज पौडेलको पटकथा तथा संवाद, कर्णराज गिरीको संगीत, दिपेन बस्न्यातको छायांकन तथा गौतमराज खड्काको सम्पादन रहेको छ ।

