Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिसमा भिड्दै सुदर्शन र पूजाको फिल्म

फिल्मीखबर, काठमाडौं, 2026/06/30

sudarshan thapa and pooja sharma

 

कुनै बेला निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माबीचको सहकार्य उदाहरणीय मानिन्थ्यो । सुदर्शनका हरेक फिल्ममा पूजा नै मुख्य अभिनेत्रीका रूपमा देखिन्थिन् । पूजाले पनि सुदर्शन निर्देशक भएका फिल्म मात्र खेल्थिन् । दुवैले मिलेर केही फिल्म निर्माण पनि गरे । तर, दुई वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘रावायण’ले उनीहरूको सम्बन्ध नै ध्वस्त बनायो ।

‘रावायण’ असफल भएपछि आर्थिक लेनदेनको विषयलाई लिएर सुदर्शन र पूजाबीच एकपटक ठूलो भनाभन परेको थियो । उनीहरूको मनमुटावका कारण उक्त फिल्मका प्राविधिकले लामो समय पैसा समेत पाएनन् । यही विषयलाई लिएर प्रहरीमा उजुरी परेपछि केही साताअघि मात्र दुवैले प्राविधिकको हिसाब सल्टाए । यसपछि दुवै आ-आफ्नै हिसाबले अगाडि बढेका छन् । 

सुदर्शनको ‘क्याम्प’बाट बाहिरिएपछि पूजाले लगातार अन्य ब्यानरका फिल्ममा गरिरहेकी छन् भने यसै वर्ष ‘रत्यौली’ नामक फिल्म पनि निर्माण गर्दैछिन् । निर्देशक थापा पनि यसै वर्ष नयाँ फिल्म ‘शुभ विवाह’ बनाउँदैछन् । रोचक कुरा के छ भने यी दुवै फिल्म एउटै मितिमा आउने भएका छन् । महाशिवरात्रिको अवसर पारेर फागुन २१ गते दुई फिल्मबीच भिडन्त हुन लागेको हो । 

‘शुभ विवाह’का वितरक सुनिल मानन्धरले केही दिनअघि सामाजिक सञ्जालमार्फत फागुन २१ गतेलाई प्रदर्शन मिति घोषणा गरेका थिए । सोमबार राष्ट्रिय धान दिवसको अवसरमा ‘रत्यौली’ले पनि त्यही मिति रोज्यो । योसँगै फिल्म वृतमा नयाँ बहस सुरु भएको छ । धेरैले यसलाई दुई फिल्मबीचको भिडन्त नभइ सुदर्शन र पूजाको इगोको लडाइँको रूपमा अर्थ्याएका छन् ।

फागुन २१ मा ‘शुभ विवाह’ र ‘रत्यौली’ बक्स अफिसमा भिड्दै गर्दा ‘प्रेमगीत’ जोडी प्रदीप खड्का र पूजा शर्मा पनि आमनेसामने हुनेछन् । ‘शुभ विवाह’मा प्रदीप मुख्य भूमिकामा देखिँदैछन् । यसरी हेर्दा फागुन २१ को भिडन्त रोचक हुने देखिन्छ । यो बहुप्रतीक्षित भिडन्तमा कसले बाजी मार्छ, त्यो धेरैका लागि चासोको विषय बनेको छ । 

Most Visited News (monthly)