
निर्देशक रामराजा दाहाल करिब ११ वर्षपछि फिल्म निर्देशनमा फर्किने भएका छन् । ‘बुलबुल’ र ‘भूठान’का निर्माता अविरल थापाको नयाँ फिल्मबाट उनले निर्देशनमा पुनरागमन गर्न लागेका हुन् । उनले पछिल्लो पटक सन् २०१५ मा ‘हे युवा’ बनाएका थिए । हाल उनी फिल्मसम्बन्धी अध्यापन गराउने संस्था अस्कर इन्टरनेसनल कलेज अफ फिल्म स्टडिजका प्रिन्सिपल हुन् ।
दशैंलगत्तै छायांकन सुरु हुने फिल्मका लागि यतिबेला निर्माण पक्षले अभिनेत्रीको खोजी गरिरहेको छ । हालै निर्माता थापाले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै कास्टिङ कल आह्वान गरेका छन् । इच्छुकले पोस्टमा राखिएको क्यूआर स्यान गरेर आवेदन दिन सक्नेछन् । अभिनेत्री बन्न उमेर भने २२ देखि २७ वर्षभित्रको हुनुपर्ने जनाइएको छ ।
निर्माता थापाले फिल्ममा छनोट हुने अभिनेत्रीमा दमदार अभिनय क्षमता हुनपर्ने र हेदैमा ‘स्टार भाइव्स’ आउने लुक्स हुनपर्ने बताएका छन् । उनी आत्मविश्वासका साथ भन्छन्, ‘यसमा जो छानिन्छ, ऊ भविष्यमा नेपाली फिल्मको सुपरस्टार नायिका बन्नेछिन् । यो हाम्रो विश्वास हो ।’ उनका अनुसार अभिनेत्री बन्न इच्छुकले असार मसान्तसम्म फर्म भरिसक्नपर्नेछ ।
उनले फिल्म प्रेमकथामा आधारित हुने पनि स्पष्ट पारेका छन् । उनी भन्छन्, ‘यो फिल्ममा अहिलेसम्म नेपाली फिल्ममा कहिल्यै नदेखिएको रोचक प्रेमकथा हुनेछ । यसले दर्शकहरूलाई मन्त्रमुग्ध बनाउँदै विगतको सम्झनामा पुर्याएर आनन्द महसुस गराउनेछ ।’ उनका अनुसार अभिनेत्री छनोट भएसँगै फिल्मको नाम सार्वजनिक गरिनेछ ।

