Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पेड्डी’मा जाह्नवीको चरित्रले निम्त्यायो विवाद, निर्देशकले मागे माफी

एजेन्सी, काठमाडौं, 2026/06/06

peddi

 

प्रदर्शनको दुई दिनमा विश्वव्यापी १५० करोड र भारतमा ११४ करोडभन्दा बढीको व्यापार गरिसकेको तेलुगु फिल्म ‘पेड्डी’ विवादमा तानिएको छ । फिल्ममा अभिनेत्री जाह्नवी कपूरले निर्वाह गरेको ‘अचियम्मा’ पात्रका कारण विवाद उत्पन्न भएको हो । फिल्ममा उक्त पात्रको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा दर्शकहरूले आपत्ति जनाएका छन् ।

‘अचियम्मा’ पात्रलाई कथाको आवश्यकताभन्दा पनि दर्शकलाई आकर्षित गर्ने उद्देश्यले अस्वभाविक रूपमा प्रस्तुत गरिएको भन्दै व्यापक आलोचना भएपछि फिल्मका निर्देशक बुच्ची बाबू सनाले सार्वजनिक रूपमा माफी नै मागेका छन् । उनले फिल्ममा महिला पात्रलाई गलत ढंगले चित्रण गर्ने आफ्नो कुनै उद्देश्य नरहेको स्पष्ट पारेका छन् ।

उनले ट्विटर एक्समा लेखेका छन्, ‘एक फिल्मकर्मीका रूपमा म यो विश्वास गर्छु कि फिल्मले दर्शकलाई मनोरञ्जन दिनुपर्छ, प्रेरित गर्नुपर्छ र उनीहरूसँग आत्मीय सम्बन्ध स्थापित गर्नुपर्छ । फिल्मको उद्देश्य कहिल्यै पनि कसैलाई असहज बनाउनु वा अपमानित गर्ने हुनु हुँदैन । ‘पेड्डी’का केही दृश्यलाई लिएर दर्शकबाट आएका प्रतिक्रियालाई हामीले अत्यन्त गम्भीरताका साथ लिएका छौँ ।’

उनले आपत्ति जनाइएका दृश्य परिवर्तन गर्ने निर्णय भएको जानकारी दिँदै अगाडि लेखेका छन्, ‘प्राप्त प्रतिक्रियाहरूको समीक्षा गरेपछि हामीले आपत्ति जनाइएका दृश्य तथा अंशहरूलाई परिवर्तन गर्ने निर्णय गरेका छौं । एक कथाकारका रूपमा समयसँगै बदलिँदै जाने सोच र संवेदनशीलतालाई सम्मान गर्नु र त्यसअनुसार परिमार्जित गर्दै लैजानु हाम्रो जिम्मेवारी हो ।’

‘पेड्डी’ एक स्पोर्ट्स ड्रामा फिल्म हो, जसले खेलमार्फत आफ्नो पहिचान खोज्ने एक पात्रको संघर्ष र सफलताको कथा प्रस्तुत गर्छ । निर्देशक सना स्वयंको लेखन रहेको फिल्ममा राम चरण, जाह्नवी कपूर, शिव राजकुमार, दिव्येन्दु र जगपति बाबु मुख्य भूमिकामा छन् । फिल्मलाई दर्शक र समीक्षक दुवैले रुचाएका छन् । विशेषगरी यसको प्रस्तुतिकरणको निकै प्रशंसा भइरहेको छ ।