
आफूले सानैदेखि ‘आइडल’ मानेको व्यक्तिसँग भेट हुँदा कस्तो अनुभूति हुन्छ ? अभिनेत्री मिरुना मगरले हालै त्यो अनुभव गरिन् । यसै साता काठमाडौंमा उनको भेट अभिनेत्री निरुता सिंहसँग भएको थियो । तर, यो एक भेट मात्र थिएन, मिरुनाका लागि ‘फ्यान मोमेन्ट’ थियो । निरुतालाई सानैदेखि आफ्नो ‘आइडल’ मानेकी उनी उक्त भेटमा ‘नोस्टाल्जिक’ भइन् ।
मिरुनाले आफू ८-९ वर्षको हुँदा एक फिल्मको छायांकनमा क्रममा निरुतासँग भेट गरेकी रहेछिन् । त्यसबेला खिचेको फोटो उनले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा राख्दै वर्षौंपछि फेरि निरुतासँग भेट हुँदाको अनुभव साटेकी छन् । उनले निरुतासँग सानैमा भेट्दा आफू अभिनेत्री बन्छु भनेर कल्पना समेत नगरेको स्मरण गरेकी छन् ।
निरुतासँग हालैको भेटमा खिचेको एक तस्वीर समेत पोस्ट गर्दै मिरुनाले लेखेकी छन्, ‘मैले निरुता सिंह म्यामलाई सानैमा भेट्ने अवसर पाएकी थिएँ, त्यो बेला म आफैं अभिनेत्री बन्छु भन्ने कल्पना समेत गरेकी थिइनँ । उहाँका फिल्महरू हेर्दै र गीतहरूमा नाच्दै म हुर्किएकी हुँ । उहाँ त्यतिबेला पनि मेरो प्रेरणाको स्रोत हुनुहुन्थ्यो, र आज पनि हुनुहुन्छ ।’
हालैको भेटपछि निरुताबाट उनी अझ प्रभावित भएकी छन् । उनी अगाडि लेख्छिन्, ‘वर्षौंपछि फेरि उहाँलाई भेट्दा मेरो सम्मान र प्रशंसा अझ बढेको छ । केवल एक स्टारका रूपमा मात्र होइन, उहाँको व्यक्तित्वले पनि मलाई प्रभावित बनाएको छ । उहाँ साँच्चै प्रतिभा, सौन्दर्य र दयालुताको प्रतीक हुनुहुन्छ । मैले सम्झेझैँ उहाँ आज पनि त्यत्तिकै प्रिय र सुन्दर हुनुहुन्छ । र, अझ प्रेरणादायी ।’
मिरुनाको उक्त पोस्ट निरुताले आफ्नो फेसबुक र इन्स्टाग्रामको स्टोरीमा सेअर गर्दै ‘माइ लिटिल स्टार’ (मेरो सानो तारा) भनेर लेखेकी छन् । उनीहरूको भेट केही दिनअघि सुरवीन राईको नयाँ बानेश्वरस्थित ब्यूटी सलोन ‘अनानिक’मा भएको थियो । उक्त भेटमा दुवैले एकअर्काको फिल्म हेरेको स्मरण गर्दै भविष्यमा सँगै फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेका थिए ।

