.jpg)
अभिनेत्री स्वस्तिमा खड्काका लागि यस वर्षको सुरुवात सानदार रह्यो । उनको मुख्य भूमिका रहेको फिल्म ‘लालीबजार’ले ठूलो व्यावसायिक सफलता हासिल गरेको छ । हिजो शनिबार प्रदर्शनको ५१ दिन मनाएको फिल्मले सो अवधिसम्म ९ करोड ३५ लाखमाथिको व्यापार गरिसकेको छ । यस वर्ष ५ करोडमाथिको व्यापार गर्ने यो पहिलो फिल्म हो ।
प्रदर्शनअघि विभिन्न उतारचढावको सामना गरेको ‘लालीबजार’को व्यावसायिक सफलतामा सबैभन्दा ठूलो भूमिका स्वस्तिमाको देखिन्छ । फिल्म प्रदर्शन भएपछि उनी जुन रूपमा खटिइन्, त्यसले व्यापारमा सकारात्मक प्रभाव पार्यो । उनले काठमाडौंदेखि कैलालीसम्म पुगेर दर्शकहरूसँग भेट गरिन् । करिब १ महिना उनको दैनिकी नै हल पुगेर दर्शक भेट्ने बनेको थियो ।
फिल्मका लागि उनले गरेको दौडधुप देखेर धेरैले उनी फिल्मकी ‘अदृश्य निर्माता’ हुनसक्ने अड्कल काटेका थिए । शनिबार ५१ दिनको सेलिब्रेसन कार्यक्रममा उनलाई पत्रकारले यही प्रश्न गरे । तर, उनले आफू निर्माता रहेको स्वीकार गरिनन् । उनले भनिन्, ‘म फिल्मको निर्माता चाहिँ होइन । यदि भएको भए नाम देखिहाल्नुहुन्थ्यो । त्यो लुकाउने कुरा पनि हुँदैन थियो ।’
यसपछि उनलाई पत्रकारले अर्को प्रश्न गरे− ‘त्यसो भए मुनाफाको हिस्सेदारीमा बस्नुभएको भयो ?’ यो कुरालाई भने उनले नकार्न सकिनन् । उनले हाँस्दै भनिन्, ‘त्यो हाम्रो आन्तरिक कुरा हो । यो कुरा सार्वजनिक रूपमा भन्नुपर्छ भन्ने छैन ।’ उनको यो कूटनीतिक शैलीको जवाफले फिल्ममा उनी मुनाफाको हिस्सेदारीमा रहेको स्पष्ट पार्छ ।
उनले आफ्नो लागि ‘लालीबजार’ जस्तो टिममा काम गर्न पाउनु ठूलो बोनस रहेको समेत बताइन् । उनले अगाडि भनिन्, ‘म फिल्ममा आउँदा २५ वर्षपछि हिरोइनले काम नै पाउँदैन भनिन्थ्यो । त्यो अवस्थाबाट आएको म आज ३० वर्षको उमेरमा यस्तो फिल्म गरिरहेको छु । यसको सबैभन्दा ठूलो श्रेय मेकरलाई जान्छ । यस्ता मेकरसँग काम गर्न पाउनु मेरो लागि ठूलो बोनस हो ।’

