.jpg)
अभिनेता जितु नेपालले करिब ५–६ वर्ष दीपकराज गिरी र दीपाश्री निरौलाको समूहमा रहेर काम गरे । यो बीचमा उनले अभिनय गरेका ‘६ एकान ६’देखि ‘छ माया छपक्कै’सम्म सबै व्यावसायिक रुपमा सफल भए । तीमध्ये केही फिल्मबाट उनले सेयरबापत झन्डै एक करोडसम्म पाएका थिए । तर, ‘छ माया छपक्कै’पछि एउटा घटनाले उनलाई यो समूहबाट अलग गरायो ।
दीपक–दीपाको समूहबाट छुट्टिएपछि उनलाई फाइदा र घाटा दुवै भइरहेको देखिन्छ । यसअघि सहायक भूमिकामा सीमित भएका उनी उक्त समूहबाट अलग भएपछि मुख्य भूमिकामा काम गरिरहेका छन् । ‘ह्यारी कि प्यारी’ र ‘ज्वाइँ साब’ यसका उदाहरण हुन् । तर, उनले मुख्य भूमिकामा काम गर्ने अवसर पाए पनि हिट फिल्म भने पाउन सकेका छैनन् ।
‘छक्का पञ्जा’ समूहबाट बाहिर आएपछि उनले काम गरेको पहिलो फिल्म ‘ह्यारी कि प्यारी’ थियो । फिल्मको कथाको केन्द्रमा उनी नै थिए । तर, फिल्म बक्स अफिसमा नराम्रोसँग पिटियो । यसपछि उनले ‘ज्वाइँ साब’मा काम गरे । यसले पनि उनलाई हिटको खुसी दिन सकेन । गत वर्ष उनको नयाँ फिल्म ‘कार्साङ’ रिलिज भयो । यसबाट त उनले फ्लपमा ‘ह्याट्रिक’ नै पूरा गरे ।
दीपक–दीपाको समूहबाट अलग भएपछि हिटविहीन बनेका जितु अब एकपटक फेरि बक्स अफिसमा स्टारडमको परीक्षा दिँदैछन् । उनी आफैँले निर्माण गरेको फिल्म ‘आइएम जितबहादुर’ अर्को साता प्रदर्शन हुँदैछ । ‘फ्लप हिरो’को ट्याग पखाल्न पनि उनलाई यो फिल्म सफल हुनैपर्ने चुनौती देखिन्छ । त्यसमाथि आफैँ निर्माता भएकाले उनी झन् ठूलो दबाबमा छन् ।
‘आइएम जितबहादुर’मा जितु मात्र होइन, उनको जोडी बनेर अभिनय गरेका प्रियंका कार्की र वर्षा राउत पनि पछिल्लो समय फ्लप फिल्मसँग जुधिरहेका छन् । प्रियंकाको त गएको ८ वर्षयता एउटा पनि फिल्म हिट छैन । वर्षाको पनि ‘महाजात्रा’पछि लगातार तीनवटा फिल्म फ्लप भइसकेका छन् । यसरी हेर्दा ‘आइएम जितबहादुर’ तीनजनै कलाकारको भाग्य परीक्षा बन्ने देखिन्छ ।

