.jpeg)
अभिनेता विजय बराल र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहने फिल्म ‘रत्यौली’ फागुन २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । सोमबार राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसर पारेर निर्माताले फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । फिल्मलाई फागुन २२ गते परेको महाशिवरात्रिको अवसरमा प्रदर्शन गर्न लागिएको हो ।
फिल्मलाई फागुन २१ मा ल्याउने निर्माताको निर्णय रणनीतिक देखिन्छ । किनकि, त्यो साता विदाको लस्कर छ । प्रदर्शनको दोस्रो दिन शनिबार र महाशिवरात्रिको विदा छ । दोस्रो दिन आइतबार यसै विदा हुन्छ । तेस्रो दिन नारी दिवस र चौथो दिन ग्याल्पो ल्होसार परेको छ । यसरी हेर्दा ‘रत्यौली’ले एकै सातामा ४ वटा विदा पाउनेछ, जुन व्यापारका लागि अनुकूल अवसर हो ।
सुरज आचार्यको लगानीमा बन्ने यस फिल्मलाई मुस्कान ढकालले निर्देशन गर्दैछन् । मुस्कान यही फिल्मबाट ७ वर्षपछि निर्देशनमा फर्किन लागेका हुन् । उनले पछिल्लो पटक लेखक सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’माथि फिल्म बनाएका थिए । सन् २०१५ मा प्रदर्शन भएको फिल्म ‘नाइँ नभन्नू ल ३’बाट निर्देशकीय यात्रा सुरु गरेका उनको ‘रत्यौली’ तेस्रो निर्देशकीय फिल्म हुनेछ ।
फिल्ममा विजय र पूजाबाहेक अन्य कलाकार तय भएका छैनन् । नाईटिङ्गेल ईन्टरटेन्मेन्ट र पूजा शर्मा प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मको छायांकन भदौबाट सुरु हुने जनाइएको छ । यो फिल्मको वितरणको जिम्मा करण श्रेष्ठको कम्पनी रिच इन्टरटेन्मेन्टले लिएको छ । सामाजिक कथावस्तुमा तयार हुने फिल्मको हाल प्रि–प्रोडक्सनको काम चलिरहेको छ ।

