
संविधान दिवसको अवसर पारेर असोज २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘झिँगेदाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ । आमाको महिमा वर्णन गरिएको यस गीतमा प्रमोद खरेल र मनीषा सुनारको स्वर, डा. कृष्णहरि बरालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा मर्मस्पर्शी भावका शब्दहरू छन् ।
गीतले आमाबुबा भएको ठाउँ नै तीर्थ हुने सन्देश दिँदै सन्तान भएका आमाहरू वृद्धाश्रममा बस्नु परेको तितो यथार्थतालाई प्रस्तुत गरेको छ । संसारमा सबैभन्दा प्यारो नै आमाको काख हुने भाव गीतमा व्यक्त छ । यस गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, मिथिला शर्मा, आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल, चैत्यदेवीलगायतका कलाकारहरू देखिएका छन् ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यस फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, सरोज खनाल, संगम भण्डारी, अयभराज बराल, अंशु महर्जन, विजय देउजा, उत्तम केसी, शिवहरि वैरागी, आशा भुसाल, विनोद कुमार पौडेल, आशिष पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । मदनकृष्ण र मिथिला फिल्मको गीतमा मात्र देखिनेछन् ।
सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानीमा बनेको फिल्ममा विष्णु घिमिरे (कल्पित)को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । फिल्मको पटकथा तथा संवाद परिच्छेद सेनले लेखेका हुन् भने कथा गोविन्द फुयाल र शिशिर चालिसेको हो ।

