Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आइएम जितबहादुर’को शो राम्रो, बुकिङ दयनीय

फिल्मीखबर, काठमाडौं, 2026/06/18

iam jit bahadur

 

चर्चित हास्य कलाकार जितु नेपालले निर्माण तथा अभिनय गरेको फिल्म ‘आइएम जितबहादुर’ भोलि शुक्रबार (५ असार)बाट प्रदर्शनमा आउँदैछ । फिल्मको प्रचार चुस्त बनाउन उनले कुनै कसर छाडेका छैनन् । मिडियामा अन्तर्वार्तादेखि विभिन्न कार्यक्रममा उनी एक्लै दौडिरहेका छन् । यसले पनि फिल्मलाई लिएर उनी कति गम्भीर छन् भन्ने स्पष्ट हुन्छ । 

फिल्ममा जितुसहित प्रियंका कार्की, वर्षा राउत र सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेकाले देशभरका हलहरूले शो बाँडफाँडमा यसलाई उच्च प्राथमिकता दिएका छन् । यो समाचार तयार पार्दासम्म फिल्मले पहिलो दिनका लागि देशव्यापी करिब ९० शो पाएको खल्ती एपमा देखिन्छ । यो एक करोडमाथिको ओपनिङ दिलाउन सक्ने शो हो ।

तर, फिल्मले पर्याप्त शो पाए पनि टिकट बुकिङको अवस्था भने दयनीय देखिएको छ । बिहीबार दिउँसो साढे २ बजेसम्म फिल्मका करिब ८० प्रतिशत शोमा टिकट बिक्री ५ प्रतिशत पनि देखिएको छैन । यसले फिल्मको ओपनिङ कमजोर रहने संकेत गर्छ । अब ‘वर्ड अफ माउथ’ कस्तो रहन्छ, त्यसले फिल्मको व्यावसायिक भविष्य निर्धारण गर्नेछ ।

जितुसहित प्रियंका र वर्षाका लागि यो फिल्म व्यावसायिक रूपमा सफल हुनैपर्ने दबाब छ । किनकि, उनीहरूका पछिल्ला धेरै फिल्म असफल छन् । जसले गर्दा उनीहरूको साखमा नै ठूलो धक्का लागेको छ । यसैले ‘आइएम जितबहादुर’ यी तीनैजना कलाकारका लागि निकै महत्त्वपूर्ण मानिएको छ । तर, फिल्मको प्रारम्भिक टिकट बुकिङले सुखद संकेत भने गरेको छैन ।