
राजबहादुर सानेको निर्देशनमा बन्न लागेको फिल्म ‘गंगा रानी’मा मुख्य अभिनेताको टुंगो लागेको छ । निर्माण टिमले अडिसनबाट रोशन केसीलाई फिल्ममा अनुबन्धित गरेको हो । फिल्मको डिजिटल अडिसनमा रोशनसहित करिब ५ सयजना सहभागी भएका थिए । तीमध्ये अभिनय क्षमताको आधारमा रोशनलाई अनुबन्धित गरिएको निर्देशक सानेले बताए ।
फिल्ममा यसअघि नै अभिनेत्री वर्षा सिवाकोटी मुख्य भूमिकामा अनुबन्धित भइसकेकी छन् । रोशन उनको जोडीको रूपमा प्रस्तुत हुनेछन् । केही म्युजिक भिडियोमा अभिनय गरिसकेका उनी ‘गंगा रानी’लाई लिएर उत्साहित देखिएका छन् । उत्कृष्ट कथा र अनुभवी टिमसँग काम गर्न पाउनु आफ्नो लागि ठूलो अवसर रहेको उनको भनाइ छ ।
निर्देशक सानेका अनुसार अहिले डिजिटल अडिसनबाट प्राप्त फोटो तथा भिडियोको आधारमा थप तीन अभिनेता र तीन अभिनेत्री छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ‘अडिसनमा सहभागी भएका प्रतिभाहरूमध्ये पात्र सुहाउँदो र राम्रो अभिनय गर्ने कलाकारहरू छनोट गरिरहेका छौं । अन्य कलाकारको नाम पनि छिट्टै सार्वजनिक गर्नेछौं,’ उनले भने ।
आहा फिल्म्सको प्रस्तुतिमा निर्माण हुने फिल्मका निर्माता कमलप्रसाद शर्मा हुन् । कमलले यसअघि ‘लज्जावती’ निर्माण गरिसकेका छन् । निर्देशक साने स्वयंको लेखन रहेको फिल्मको छायांकन आगामी भदौ दोस्रो साताबाट सुरु गर्ने तयारी गरिएको छ । फिल्मले धनाड्य युवती र संगीत क्षेत्रमा संघर्षरत मध्यम वर्गीय युवकबीचको मर्मस्पर्शी प्रेमकथा प्रस्तुत गर्ने जनाइएको छ ।

