.jpg)
यतिबेला हलमा ६ वटा नेपाली फिल्म प्रदर्शनरत छन् । तीमध्ये बक्स अफिसको अंकगणितमा ‘लालीबजार’ सबैभन्दा अगाडि देखिएको छ । गत वैशाख २५ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले जेठ ३१ गते आइतबार (हिजो)सम्म ९ करोडमाथिको व्यापार गरेको चलचित्र विकास बोर्डको तथ्यांकमा देखिन्छ । यसको कुल कमाइ ९ करोड १६ लाख ६५५ रुपैयाँ ग्रस छ ।
यो फिल्मले अघिल्लो आइतबारसम्म ८ करोड ७८ लाख ५ हजार १९८ रुपैयाँ कमाएको थियो । यसरी हेर्दा फिल्मले पछिल्लो सात दिनमा ३७ लाख ९५ हजार ४५७ रुपैयाँ कमाइ गरेको छ । फिल्म प्रदर्शन भएको एक महिनाभन्दा बढी भइसक्दा पनि साप्ताहिक व्यापार ३० लाखमाथि हुनु ठूलो उपलब्धि हो । आइतबारसम्म फिल्मका ३ लाख ११ हजार ४०३ वटा टिकट बिक्री भएका छन् ।
यस्तै, जेठ १५ गते प्रदर्शन भएको फिल्म ‘रोल नं. १’ले जेठ ३१ गतेसम्म ४७ हजार १५१ वटा टिकट बिक्री गर्दै १ करोड ३५ लाख १५ हजार ९९३ रुपैयाँ ग्रस कमाएको छ । यसले अघिल्लो आइतबारसम्म ९४ लाख ९१ हजार ६८० रुपैयाँ कमाएको थियो । यसरी हेर्दा फिल्मले पछिल्लो सात दिनमा ४० लाख २४ हजार ३१३ रुपैयाँ कमाएको छ । यसलाई पनि सुखद नै मान्न सकिन्छ ।
‘मितज्यू’ले भने पछिल्लो सात दिनमा १ लाख ४१ हजार ४ सय ८३ रुपैयाँ मात्र कमाएको छ । यसको अघिल्लो आइतबारसम्मको कमाइ १ करोड ३१ लाख ११ हजार ८५९ रुपैयाँ थियो । हिजो आइतबारसम्म फिल्मले १ करोड ३२ लाख ५३ हजार ३४२ रुपैयाँ कमाएको बोर्डको तथ्यांकमा देखिन्छ । यसका अहिलेसम्म ४६ हजार १५४ वटा टिकट बिक्री भएका छन् ।
‘मितज्यू’सँग एकसाथ प्रदर्शनमा आएको ‘काजी’ले जेठ ३१ गतेसम्म ४४ लाख ४८ हजार ६० रुपैयाँ ग्रस कमाएको छ । यसमा पछिल्लो सात दिनको योगदान जम्मा ९ हजार ७५ रुपैयाँ मात्र छ । फिल्मले अघिल्लो आइतबारसम्म ४४ लाख ३८ हजार ९८५ रुपैयाँ कमाएको थियो । फिल्मको टिकट बिक्रीको संख्या भने १४ हजार ३२४ छ ।
त्यस्तै, जेठ १ गते प्रदर्शन भएको ‘लाइफ ड्यामेज’ले पछिल्लो सात दिनमा २६ हजार २ सय ७५ रुपैयाँ कमाएको छ । यो फिल्मको गत जेठ २४ गतेसम्मको कमाइ ३४ लाख ४० हजार १५ रुपैयाँ थियो । हिजो आइतबारसम्म फिल्मको कुल व्यापार ३४ लाख ६६ हजार २९० रुपैयाँ पुगेको छ । यसका ११ हजार ३७१ वटा टिकट बिक्री भएको बोर्डको विवरणमा उल्लेख छ ।
यस वर्षको सुरुवाती दुई महिना (वैशाख र जेठ)मा सबैभन्दा कमजोर व्यापार भने ‘कुम्भ’को देखिन्छ । यसले १ हजार ६७९ वटा टिकट बिक्रीबापत ३ लाख ९१ हजार १० रुपैयाँ कमाएको छ । यसको अघिल्लो आइतबारसम्मको कमाइ ३ लाख ३२ हजार ४१० रुपैयाँ थियो । अर्थात् फिल्मले पछिल्लो सात दिनमा ५८ हजार ६ सय रुपैयाँ कमाएको छ ।

