‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को तेस्रो संस्करणको मुख्य आकर्षणको रूपमा रहेको ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिताको आवेदन दिने समयसीमा थप गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा परिमार्जित समय तालिका र विस्तृत नियमहरूबारे जानकारी गराइयो । अब मंसिर १४ गतेभित्र इमेलमार्फत आफ्नो सिर्जना पठाउनुपर्ने आयोजकले जनाएको छ ।
कर्णाली क्षेत्रका स्थानीय सर्जक, लेखक तथा दूरदराजमा रहेका प्रतिभाहरूबाट भौगोलिक विकटता र सिर्जनात्मक तयारीका लागि थप समय माग भएका कारण आवेदन दिने अवधि थप गरिएको महोत्सवका निर्देशक चक्रबहादुर चन्दले जानकारी दिए । कोही पनि सर्जक यो अवसरबाट नछुटुन् र कथाहरूमा परिपक्वता आओस् भन्ने हेतुले यो निर्णय लिइएको उनले बताए ।
उनका अनुसार ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिताका लागि आह्वान गरिएका कथाहरूमध्ये उत्कृष्ट १५ कथाको छनोट गरिनेछ । छनोट भएका ती कथाका लेखकहरूलाई पटकथा लेखनसम्बन्धी विशेष तालिम दिँदै सर्वोत्कृष्ट तीन कथालाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिने उनले बताए ।
प्रतियोगितामा स्वदेश तथा विदेशमा बसोबास गर्ने जुनसुकै उमेर समूहका नेपाली नागरिकले भाग लिन सक्नेछन् । कथा भने पूर्ण रूपमा मौलिक, अप्रकाशित र अनिवार्य रूपमा कर्णाली क्षेत्रको संस्कृति, परम्परा, इतिहास वा सामाजिक यथार्थमा आधारित भई नेपाली भाषामा लेखिएको हुनुपर्नेछ । प्राप्त कथाहरूको नतिजा आगामी २०८३ पुष १६ गते प्रकाशन गरिने जनाइएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भएका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेश सरकारले नेपाली फिल्म छायांकनका लागि १ करोड बजेट छुट्याउने सहमति भएको जानकारी दिए । ‘हामीलाई कर्णाली प्रदेश सरकारले वाचा गर्नुभएको छ, यो वर्ष नेपाली फिल्मकै लागि भनेर १ करोड बजेट छुट्टाउने सहमति छ,’ उनले भने ।

