Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुई महिनामा विपिनका दुई फिल्म फ्लप

फिल्मीखबर, काठमाडौं, 2026/06/16

 

अहिलेको समयका सर्वाधिक महँगा अभिनेताको सूचीमा ‘टप थ्री’भित्र पर्ने नाम हो, विपिन कार्की । उनले केही वर्षयता प्रतिफिल्म ५० लाखमाथि पारिश्रमिक बुझ्ने गरेको चर्चा छ । २०८१ सालमा प्रदर्शन भएको फिल्म ‘तेल भिसा’का निर्माताले उनलाई ५० लाख पारिश्रमिक दिएको खुलासा नै गरेका थिए । त्यसयता पनि उनले त्योभन्दा कममा कमै फिल्म खेलेका छन् । 

तर, पारिश्रमिकअनुसार उनका फिल्मले बक्स अफिसमा अपेक्षित प्रदर्शन गर्न भने सकेका छैनन् । उनका पछिल्ला फिल्मको व्यापारिक नतिजा हेर्ने हो भने निराशाजनक देखिन्छ । गएको दुई वर्षमा उनको एउटा मात्र फिल्म हिट भएको छ । त्यो हो, ‘ऊनको स्वीटर’ । यसबाहेक २०८० देखि २०८३ सम्म उनका ५ वटा फिल्म फ्लप भइसकेका छन् । 

यस वर्ष त झन् उनको बोहनी नै बिग्रियो । वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते प्रदर्शन भएको उनी अभिनीत फिल्म ‘पहाड’ले घरेलु बक्स अफिसमा ६५ लाख पनि कमाएन । यो यस वर्षको पहिलो फ्लप फिल्म हो । यसपछि जेठ ८ गते उनको अर्को फिल्म ‘काजी’ प्रदर्शन भयो । यसबाट उनले ठूलो आशा राखेका थिए । तर, यो फिल्मले ‘पहाड’ जति पनि कमाउन सकेन ।

सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस तथ्यांकअनुसार ‘काजी’ले ३१ जेठसम्म ४४ लाख ४८ हजार ग्रस कमाएको छ । जबकि, यो फिल्ममा विपिनले पारिश्रमिक मात्र ५० लाखमाथि बुझेको चर्चा छ । यसरी आफैँले लिएको पारिश्रमिक समेत फिल्मले उठाउन छाडेपछि उनको ‘स्टार भ्यालु’माथि प्रश्न उठ्न थालेका छन् ।

अब विपिन ‘कबड्डी ५’को प्रतीक्षामा छन् । हिट फ्रेन्चाइज भएकाले यसको सफलता लगभग सुनिश्चित मानिएको छ, जुन उनका लागि ठूलो राहत हुनेछ । यसअघि पनि संकटका बेला उनलाई फ्रेन्चाइज फिल्मले नै जोगाएका थिए । त्यसमा ‘जात्रा’ र ‘पशुपति प्रसाद’ श्रृंखलाको ठूलो योगदान छ । जे होस्, विपिनका लागि फ्रेन्चाइज फिल्महरू करिअर उकास्ने ‘ब्रम्हास्त्र’ बनेका छन् ।