
क्याप्टेन रामेश्वर थापाको संस्मरणात्मक कृति ‘इन्टो द फायर’ (बारुदमाथि उड्दा)मा आधारित फिल्म ‘क्याप्टेन साब’को छायांकन सकिएको छ । बुधबार काठमाडौंमा अन्तिम दृश्य खिचिएसँगै फिल्मको छायांकन प्याकअप भएको हो । दुई चरणमा गरी ११ महिनामा फिल्मको छायांकन पूरा भएको निर्देशक दीपेन्द्र के. खनालले जानकारी दिए ।
यो फिल्मको गत साउन पहिलो साताबाट छायांकन सुरु गरिएको थियो । तर, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण फिल्मको छायांकन रोकिन पुग्यो । त्यसपछि करिब ९ महिना छायांकन नै हुन सकेन । जसले गर्दा अब फिल्म नै नबन्ने चर्चा समेत चलेको थियो । तर, गत जेठ दोस्रो साताबाट काभ्रेमा फिल्मको छायांकन पुनः सुरु भयो ।
पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस फिल्ममा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सन्जोग रसाइलीको मुख्य भूमिका रहेको छ । खगेन्द्रले क्याप्टेन थापाको भूमिका निभाएका छन् । उनको श्रीमतीको भूमिकामा सुरक्षा छिन् । खगेन्द्र र सुरक्षाले यसअघि फिल्म ‘धनपति’मा एकसाथ काम गरेका थिए ।
यो फिल्मका लेखक तथा निर्माता निर्देशक खनाल स्वयं हुन् । कार्यकारी निर्मातामा अभिनेत्री सिर्जना नापित छिन् । फिल्मले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वको समयमा क्याप्टेन थापाले जोखिम मोलेर हेलिकप्टरमार्फत घाइते सुरक्षाकर्मी र सर्वसाधारणको उद्धार गर्दाका साहसिक क्षणहरूलाई देखाउने जनाइएको छ । फिल्मलाई यसै वर्ष रिलिज गर्ने योजना बनाइएको छ ।

