
हरितालिका तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अक्षरा’को विगत एक महिनादेखि छायांकन भइरहेको छ । सोमबारदेखि भने काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ स्थित उत्तरवाहिनी मन्दिरमा फिल्मको तीज गीतको छायांकन थालिएको छ । त्यसका लागि मन्दिर परिसरलाई नै फूलको मालाले आकर्षक रूपमा सजाइएको छ ।
‘नाचौं न बरि लै’ बोलको गीतमा समीक्षा अधिकारीको स्वर, कर्णराज गिरीको संगीत तथा सुरेन्द्र राणाको शब्द रचना रहेको छ । उत्तरवाहिनी मन्दिरमा दुई दिनसम्म छायांकन हुने यस गीतमा फिल्मका मुख्य कलाकारहरू सुशील सिटौला, रिस्ता बस्नेत र न्यान्सी खड्काले नृत्य प्रस्तुत गरेका छन् । गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् ।
विनयराज पौडेलको डेब्यू निर्देशनमा बनेको यस फिल्ममा रिस्ता, न्यान्सी र सुशीलसहित सुशील पोखरेल, पुष्कर राउत, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, रोनक खड्का, प्रिसा ढुङ्गानालगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्मले महिला सशक्तिकरण र सामाजिक समानताको सन्देश दिने जनाइएको छ ।
क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता सुरज थापाकाजी हुन् भने निर्मातामा उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना रहेका छन् । अभिमन्यु निरवीको पटकथा तथा संवाद लेखन रहेको फिल्मको छायांकन दिपेन बस्न्यातले गरिरहेका छन् । द्वन्द्व निर्देशन शंकर महर्जनको रहेको छ । फिल्मलाई नेशनल सिने ग्रुप नेपालले वितरण गर्नेछ ।

