.jpg)
पछिल्लो समय बलिउडमा दर्शक तान्न फिल्मको टिकटमा ५० प्रतिशतसम्म छुट दिने चलन निकै बढेको छ । ‘है जवानी तो इश्क होना है’देखि ‘भारत भाग्य विधाता’सम्मका फिल्मले यो उपाय अपनाइसकेका छन् । तर, त्यसको प्रभाव फिल्मको व्यापारमा भने देखिएको छैन । अब नेपाली निर्माताहरूले पनि दर्शक तान्न यही रणनीति अपनाउन थालेका छन् ।
गत जेठ १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘रोल नं १’को टिकट पनि अब आधा मूल्यमै बिक्री गर्न थालिएको छ । फिल्मका निर्माताले बिहीबारदेखि लागू हुने गरी नियमित मूल्यभन्दा ५० प्रतिशत कममा टिकट बिक्री गर्ने निर्णय गरेका हुन् । त्यसका लागि दर्शकले खल्ती एपबाट टिकट काट्नुपर्ने हुन्छ । टिकटमा ५० प्रतिशत छुट दिने यो पहिलो नेपाली फिल्म भने होइन ।
विद्यार्थी र अभिभावकले टिकटको मूल्य घटाउन आग्रह गरेपछि देशभरका हलमा ५० प्रतिशत छुटमा टिकट बिक्री गर्न थालिएको निर्माता विनोद पौडेलले बताए । उनले भने, ‘स्कुल, अभिभावक र विद्यार्थीहरूको विशेष अनुरोधपछि हामीले फिल्मको टिकटमा ५० प्रतिशत छुट प्रदान गरेका छौं । यो देशभरका हलमा लागू भइसकेको छ ।’
जोन योञ्जनको निर्देशन रहेको यस फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु नाथ योगी, एवन राज उप्रेती, सुवास गजुरेल, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठलगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । फिल्मले बालबालिकालाई अभिभावकले दिने पढाइको दबाब र त्यसले पार्ने प्रभावको कथा पेस गरेको छ ।

