
फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ बाट उदाएका नायक हुन्, धिरज मगर । यो फिल्म औसत चले पनि उनको अभिनय र लुक्सले धेरैलाई फ्यान बनायो । डेब्यू फिल्मबाटै जबरजस्त क्रेज बनाएका उनी ठूलो पर्दामा देखिएको दुई वर्षभन्दा बढी भइसकेको छ । जसले गर्दा दर्शकले उनलाई विर्सिन थालेको चर्चा चलिरहेको छ । हालै उनले फिल्म ‘आई एम ट्वान्टिवान’ को छायांकन सकेका छन् ।
यो फिल्मका लागि २ वर्ष समय दिएका धिरज अब लगातार फिल्म गर्ने मुडमा देखिएका छन् । उनी बैशाखबाट ‘कृ’ निर्देशक सुरेन्द्र पौडेलको फिल्ममा काम गर्दैछन् । यसमा उनको जोडी अभिनेत्री अदिती बुढाथोकीसँग बाँधिएको छ । अहिले फिल्मको वर्कसप चलिरहेको छ । यो फिल्मपछि धिरज ‘छ माया छपक्कै’ निर्देशक दीपेन्द्र लामाको फिल्ममा काम गर्ने तयारीमा छन् ।
उनले दीपेन्द्रको फिल्म साइन गरिसकेको जानकारी प्राप्त छ । तर, अहिले छलफलकै चरणमा रहेको दीपेन्द्र बताउँछन् । उनी भन्छन्, ‘धिरजसँग कुराकानी भएको सत्य हो तर साइन भइसकेको छैन । ऊबाहेक अरुसँग कुराकानी पनि भएको छैन । सँगै काम गर्ने मोटामोटी सहमति चाहिँ भएको छ । तर, यो फिल्म कात्तिकभन्दा अगाडि बन्दैन । अहिले स्क्रिप्टमा काम भइरहेको छ ।’
उनले अधुरैमा रोकिएको फिल्म ‘दुई नम्बरी’ को छायांकन सकाएपछि धिरजलाई लिएर फिल्म बनाउनेछन् । फिल्म टिपिकल लभस्टोरी हुने दीपेन्द्रको भनाई छ । धिरजले महंगो पारिश्रमिकमा यो फिल्ममा काम गर्न लागेको चर्चा छ । ‘इन्टु मिन्टु लण्डनमा’ पछि अफर आएका फिल्म नकार्दै आएका उनी अब भने स्क्रिप्ट र भूमिका चित्त बुझे फिल्म छाड्ने पक्षमा देखिएका छैनन् ।

