
लामो समयदेखि अमेरिकामा बस्दै आएकी अभिनेत्री रञ्जना शर्मा बैबाहिक जीवनमा बाँधिएकी छन् । बुधवार उनले प्रेमी निकेश सिलवालसँग इसाई धर्मअनुसार विवाह गरेकी हुन् । उनीहरुको विवाह समारोहमा अमेरिकामा बसोबास गर्ने फिल्मकर्मीहरुको उपस्थिति रहेको थियो । सेतो रंगको आकर्षक गाउनमा सजिएकी रञ्जनाले विवाहका तस्विर तथा भिडियोहरु फेसबुकको स्टोरीमा पोस्ट गरेकी छन् ।
होटेल म्यानेजमेन्ट अध्ययन गरेका निकेशसँग रञ्जना केही वर्षदेखि प्रेम सम्बन्धमा थिइन् । विवाहभन्दा अगाडि उनीहरु बाल्टिमोरमा एकसाथ बस्दै आएका थिए । रञ्जनाको यो दोस्रो विवाह हो । निर्देशक श्याम भट्टराईसँग विवाह गरेर उनी अमेरिका हानिएकी थिइन् । यसपछि उनीहरुको सम्बन्ध विग्रियो । रञ्जनासँग डिभोर्स भएपछि श्यामले पनि दोस्रो बिहे गरिसकेका छन् ।

नेपाल टेलिभिजनबाट प्रसारित उतिबेलाको चर्चित सिरियल ‘जानकी’ मार्फत रजतपटमा प्रवेश गरेकी रञ्जनालाई फिल्म ‘मौसम’ ले अभिनेत्रीको रुपमा स्थापित गरेको थियो । ‘ध्रुवतारा, हे युवा’ लगायतका फिल्ममा पनि काम गरेकी उनले अमेरिका पलायन भएपछि भने अभिनयलाई निरन्तरता दिएकी छैनन् । उनी अमेरिकामा अभिनेत्री अरुणीमा लम्सालसँग निकै नजिक छिन् ।

