.jpg)
निर्माता माधव वाग्ले यतिबेला कुनै पनि हालतमा निर्देशक बनिछाड्ने अठोट बोकेर बसेका छन् । यस वर्ष उनी आफ्नो निर्देशनमा अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘पारस’ बनाउने तयारीमा थिए । तर, भुवन केसीले ‘लक’ भइसकेको स्क्रिप्ट तोडमोड गरेको भन्दै उनले ३० लाख बुझेर फिल्मबाट हात झिके । यसपछि उनले चलचित्र विकास बोर्डमा फिल्म ‘हिमानी’ दर्ता गरे ।
अब उनी यो फिल्मभन्दा अगाडि आफ्नो निर्देशनमा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्कालाई मुख्य भूमिकामा लिएर फिल्म ‘विवेक’ बनाउन कसिएका छन् । उनको प्रोडक्सन कम्पनी प्रिन्सेस मुभिजको ब्यानरमा बन्न लागेको फिल्ममा विपिन र स्वस्तिमा फाइनल भइसकेका छन् । फिल्मको अन्य पात्रका लागि भने अडिसनबाट कलाकार छानिने निर्माता वाग्लेले बताए ।
मंगलवार साँझ उनले आफ्नो फेसबुकमा फिल्मको एक पोस्टर सार्वजनिक गरेका छन्, जसमा विपिनलाई निराश मुद्रामा देख्न सकिन्छ । फिल्ममा उनी टाइटल क्यारेक्टरमा देखिनेछन् । पोस्टरमार्फत् फिल्मका लागि अडिसन आह्वान गरिएको छ । मधेशी चरित्रका लागि चैत २८ गते प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरधाममा अडिसन हुन लागेको निर्माता वाग्लेले बताए ।
उनले भने- ‘फिल्मले तराई क्षेत्रको कथा भन्ने भएकाले कलाकार पनि त्यतैबाट लिन खोजेका हौं । छायांकन पनि तराई क्षेत्रमै हुनेछ । अहिले स्क्रिप्टमा काम भइरहेको छ । जेठपछि छायांकनमा निस्कने तयारीमा छौं ।’ ‘हिमानी’ को स्क्रिप्टमा काम भइरहँदा ‘विवेक’ को कथा फुरेको उनले बताए । लेकनाथ कोइरालाको लेखन रहेको फिल्म नेपाली, मैथिली र भोजपुरी भाषामा निर्माण हुनेछ ।

