.jpg)
फिल्म ‘लुट’ बाट नेपाली फिल्मको रुपरेखा नै बदलेका निश्चल बस्नेत सेलिब्रेटी निर्देशकको रुपमा चिनिन्छन् । पहिलो फिल्मबाटै वाहवाही बटुलेका उनले ‘लुट २’ मा भने बजारमुखी भएको आरोप खेप्नु पर्यो । उनी आफैं पनि यो फिल्मबाट आफ्नो घैंटोमा घाम लागेको बताउँछन् । यसपछि स्क्रिप्टले मन नछोएसम्म निर्देशन नगर्ने अठोटमा बसेका उनी चार वर्षपछि निर्देशनमा फर्किँदैछन् ।
‘कर्नाली ब्लुज, फिरफिरे’ पुस्तकका लेखक बुद्धिसागरले लेखेको कथामा फिल्म ‘जिन्दाबाद’ बनाउने तयारीमा निश्चल छन् । उनको प्रोडक्सन कम्पनी ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मको आउँदो जेठपछि छायांकन सुरु हुने जानकारी प्राप्त छ । गार्मिण परिवेशको कथा वाचन गर्ने फिल्मका लागि लोकेशन हेर्न निर्देशक बस्नेत यतिबेला दुर्गम ठाउँ कर्णालीमा छन् ।
उनले इन्स्टाग्राम एकाउन्टमा हिँउले ढाकिएको कर्णालीको डाँडामा खिचेको आफ्नो एक तस्विर शेयर गरेका छन् । केही हप्ताभित्र फिल्मको औपचारिक निर्माण घोषणा गर्ने तयारीमा रहेका निश्चलले फिल्ममा अभिनय गर्ने कलाकारहरुको बारेमा भने कुनै जानकारी दिएका छैनन् । स्रोतका अनुसार, फिल्मका लागि अभिनेता द्वय सौगात मल्ल र दयाहाङ राई फाइनल भइसकेका छन् ।
यसअघि उनीहरुसँग निश्चलले ‘लुट’ सिरिजमा काम गरेका थिए । लभस्टोरी-कमेडी जनरामा निर्माण हुने ‘जिन्दाबाद’ को मुख्य नायिकामा स्वस्तिमा खड्काको अभिनय रहने चर्चा छ । तर, यसबारेमा निर्माण टिमको तर्फबाट आधिकारिक जानकारी प्राप्त भएको छैन । चार वर्षपछि निर्देशनमा फर्किन लागेका निश्चललाई यो फिल्मबाट आफ्नो गुम्दो साख जोगाउनु पर्ने ठूलो चुनौती छ ।

