
गायक र म्यूजिक भिडियो निर्देशकको रुपमा स्थापित नाम हो- सरोज ओली । ‘माछीले खाने’ गीतले दर्शकमाझ गायकको रुपमा चिनिएका उनले दर्जनौं म्यूजिक भिडियोको निर्देशन पनि गरिसकेका छन् । नेपाली फिल्मका गीतलाई मत दिने गरी भिडियोको मेकिङ गर्ने गरेका उनी अब फिल्म निर्माणमा होमिने भएका छन् । उनले शुक्रवार फेसबुकमार्फत् यसको जानकारी दिएका हुन् ।
उनको प्रोडक्सन कम्पनी शुभ मिडियाको ब्यानरमा फिल्म निर्माण हुनेछ । उनले यसै हप्ता कानुनी प्रक्रिया पूरा गरेर अर्को हप्ता कलाकारसहित फिल्मको औपचारिक घोषणा गरिने जानकारी दिएका छन् । फिल्मको निर्देशन भने उनी आफैंले नगर्ने भएका छन् । सयौं म्यूजिक भिडियो र फिल्मका गीतमा कोरियोग्राफी गरिसकेका विक्रम स्वारले फिल्म निर्देशनको जिम्मेवारी पाएका छन् ।
६ महिनापछि छायांकनमा निस्कने बताइएको फिल्मका लागि मुख्य नायकमा पल शाह फाइनल भएको विश्वस्त स्रोतले बताएको छ । लकडाउनपछि निर्देशक ओलीले पललाई लिएर एकपछि अर्को म्यूजिक भिडियोमा काम गरिरहेका छन् । अब उनले फिल्म पनि पललाई नै लिएर बनाउन लागेको स्रोतको दाबी छ । तर, सरोज फिल्मको बारेमा अहिले नै केही नबोल्ने भन्दै पन्छिएका छन् ।
पल साइन भएको कुरा फुत्किने डरले उनले फिल्म घोषणासम्म पर्खिन आग्रह गरेका छन् । ‘सत्यम् र दुई नम्बरी’ को छायांकन सकिएपछि पलले सरोजको फिल्मलाई समय दिने बुझिएको छ । फिल्मको टिम अहिले स्क्रिप्टलाई बलियो बनाउन मेहनत गरिरहेको छ । कोरियोग्राफरको रुपमा आफूलाई स्थापित गरिसकेका विक्रम स्वारले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्नेछन् ।

