
पछिल्लो समय सेलिब्रेटीहरुको फेसबुक, ट्विटर, इन्स्टाग्राम, वाट्स एप आदि ‘ह्याक’ हुने क्रम बढिरहेको छ । यसैक्रममा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता सरोज खनाल र गीतकार तथा रंग पत्रकार दयाराम पाण्डेको पनि फेसबुक एकाउन्ट ह्याक भएको छ । फेसबुक ह्याक गरेर ह्याकरले विभिन्न व्यक्तिसँग पैसा माग्न थालेपछि उनीहरु गुहार माग्दै प्रहरीसमक्ष पुगेका छन् ।
बिहीवार उनीहरुले काठमाडौं उपत्यका अपराध अनुसन्धानमा फेसबुक फिरौतीको माग गर्दै उजुरी दिएका हुन् । दीपाश्रीले आफ्नो फेसबुकबाट ह्याकरले सुमन गिरी ‘भान्जा’ सँग एक लाख मागेको बताइन् । पैसा पठाउन ह्याकरले बैंक खाता समेत पठाएको उनले बताएकी छन् । अभिनेता सरोज खनालको फेसबुकबाट पनि ह्याकरले विभिन्न व्यक्तिसँग च्याटमा कुरा गरेर पैसा मागिरहेको छ ।
त्यस्तै, पत्रकार पाण्डेले आफ्नो फेसबुकबाट ह्याकरले विभिन्न बहाना बनाएर पैसा मागिरहेको बताए । ‘मलाई बुधवार दीपकराज पाठकबाट फेसबुकमा एउटा कोड आयो र त्यो कोड मागेपछि मैले पठाइदिएँ । त्यसपछि मेरो फेसबुक ह्याक भयो,’ उनले भने- ‘फेसबुक ह्याक गरेपछि ह्याकरले म बनेर देश तथा विदेशमा बस्ने धेरै जनासँग ५० हजारदेखि एक लाखसम्म मागेको रहेछ ।’
आफ्नो फेसबुक ह्याक भएपछि सरोज खनाल, दीपाश्री निरौलालाई म्यासेजमा कोड गएर ह्याक भएको पाण्डेले बताए । उनले अगाडि भने- ‘मेरो फेसबुकमा साथी रहेका कलाकार, खेलाडी सबैको प्रोफाइल हेर्दै ह्याकरले बहिनी बिरामी छ भनेर पैसा मागेको रहेछ । कति जनासँग अपशब्द पनि प्रयोग गरेको रहेछ ।’ अहिले प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको उनले बताए ।

