
भारतमा कोरोनाको दोस्रो लहर सुरु भएसँगै बलिउड फिल्म इन्डस्ट्री फेरि एकपटक कोमा जानसक्ने खतरा देखिएको छ । संक्रमण बढ्न थालेपछि प्रदर्शनका लागि तयार फिल्महरु पोस्टपोन्ड हुन थालेका छन् । यसबीच, २३ अप्रिलमा रिलिजको तयारीमा रहेको सैफ अली खान र रानी मुखर्जी स्टारर फिल्म ‘बन्टी और बबली २’ को रिलिज अनिश्चितकालका लागि रोकिएको छ ।
निर्माता आदित्य चोपडाले महामारीपछि दर्शकलाई सिनेमा हलसम्म तान्न फिल्म समक्ष रहेका कारण यो समयमा प्रदर्शन गर्न उचित नहुने बताएका छन् । उनले भनेका छन्, ‘यो फिल्म सही समयमा प्रदर्शन गर्दा राम्रो हुन्छ । कोरोनाको दोस्रो लहरका कारण प्रतिबन्धका बीच सिनेमा हलमा गएर फिल्म हेर्न सम्भव हुँदैन । त्यसैले फिल्म रिलिजका लागि यो सही समय होइन ।’
यो फिल्म सन् २००५ मा आएको अभिषेक बच्चन र रानी मुखर्जी अभिनीत फिल्म ‘बन्टी और बबली’ को सिक्वेल हो । यो फिल्मबाट १५ वर्षपछि सैफ र रानी एकसाथ सिल्भर स्क्रिनमा देखिँदैछन् । कोरोना महामारीबीच गत वर्षको मार्चमा छायांकन पूरा भएको फिल्ममा सिद्धान्त चतुर्वेदी र शरवरी वाघको पनि प्रमुख भूमिका रहेको छ । वरुण शर्माले फिल्मको निर्देशन गरेका हुन् ।

