नेपाल राष्ट्र बैंकले प्रिपेड कार्ड लिएर डलर भुक्तानी गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएपछि अब अमेजन र नेटफ्लिक्स लगायतका डिजिटल प्लेटफर्मका लागि नेपालबाटै डलर भुक्तानी गर्न सकिने भएको छ । यसअघि डलर खाता भएकाले मात्रै विदेशमा डलर भुक्तानी गर्न सक्ने व्यवस्था थियो । अब नेपाली बैंकहरुमार्फत प्रिपेड कार्ड बनाएर डलर खर्च गर्न सकिनेछ ।

मनोरञ्जनात्मक डिजिटल प्लेटफर्म सञ्चालनमा सहज हुने गरी नेपालबाटै डलर भुक्तानी गर्न मिल्ने डेविट कार्ड उपलब्ध गराउन गत साउनमा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग फिल्म सम्बद्ध विभिन्न संघ संस्थाका प्रतिनिधिको साथमा निर्माता संघका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघको चलचित्र एवं मनोरञ्जन फोरमका सभापति आकाश अधिकारीले आग्रह गरेका थिए ।
राष्ट्र बैंकले फिल्मकर्मीको आग्रह स्वीकार गर्दै विदेशी सेवा तथा वस्तु आयातमा प्रिपेड कार्डबाट डलर भुक्तानी गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएकोमा अध्यक्ष अधिकारीले खुसी व्यक्त गरेका छन् । प्रिपेड कार्डको कार्यान्वयनले नेपाली फिल्म क्षेत्रलाई ठूलो फाइदा मिल्ने उनको विश्वास छ । अब नेपाली फिल्मलाई विश्वका जुनसुकै प्लेटफर्ममा जानका लागि बाटो खुलेको उनले बताए ।
उनले भने, ‘नेपालबाटै डलर भुक्तानी गर्न मिल्ने व्यवस्था नहुँदा अमेजन, नेटफ्लिक्स जस्ता ठूला डिजिटल प्लेफर्ममा नेपालीहरुले विदेशको आइडी किनेर वा मागेर फिल्महरु हेरिएका थिए । यसबाट के हुन्छ भने नेपालबाट फिल्म हेरिएको देखिए पनि विदेशीले हेरेको देखिन्छ । जसले गर्दा नेपाली मेम्बर नभएपछि नेटफ्लिक्स जस्ता प्लेटफर्मले नेपाली फिल्म चिन्न सकेको अवस्था थिएन ।’

सदस्य भएको देशमा अमेजन, नेटफ्लिक्स जस्ता प्लेटफर्मले लगानी गर्ने भएकाले अब नेपालमा पनि यसका लागि बाटो खुलेको उनको भनाई छ । निर्माता संघले २ हजार डलरसम्म भुक्तानीको माग गरे पनि राष्ट्र बैंकले ५ सय डलरसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । अध्यक्ष अधिकारीले आफूले राष्ट्र बैंकका गर्भनरसँग एक हजार डलरसम्म पुर्याउन आग्रह गरेको बताए ।
अब नेटफ्लिक्स जस्ता प्लेटफर्मले नेपाली फिल्ममा लगानी गर्न सक्ने र क्वालिटीका नेपाली फिल्म किन्न सक्ने उनको विश्वास छ । उनी भन्छन्, ‘नेटफ्लिक्स जस्ता प्लेटफर्म भोली नेपालमा पनि बन्न सक्छन् । जसमा अब सजिलै नेपाली जनताको पहुँँच हुनेछ र नेपाली ओटीटी प्लेटफर्म, नेपाली फिल्म विश्वभर जान सक्नेछ । यसअर्थमा प्रिपेड कार्डले नेपाली फिल्म क्षेत्रलाई फाइदा मिल्छ ।’

