Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोरोनाका कारण फेरि रोकियो ‘लप्पन छप्पन २’ रिलिज

फिल्मीखबर, काठमाडौं, 2021/03/24
 
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि नेपाल सरकारले सभा, गोष्ठी, जुलुस, र्‍याली, भेला, सेमिनार, बैठक, भीडभाड हुने व्‍यावसायिक कार्यहरु नगर्न आग्रह गरेसँगै यही चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लप्पन छप्पन २’ को रिलिज स्थगित गरिएको छ । निर्देशक तथा निर्माता मुकुन्द भट्टले अब निर्धारित मितिमा फिल्म प्रदर्शन नहुने जानकारी दिए । 
 
योसहित तेस्रो पटक कोेरोनाका कारण फिल्मको रिलिज पोस्टपोन्ड भएको हो । सरकारले भारतमा भयावह रुपमा फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै सर्तक रहन आग्रह गरेपछि सिनेमा हलमा दर्शकको संख्या पातलिँदै गएको छ । यसले गर्दा चैत २७ लाई प्रदर्शन मिति घोषणा गरेका अरु दुई फिल्म ‘कृष्ण लीला र मनसँग मन’ पनि पोस्टपोन्ड हुनसक्ने देखिएको छ । 
 
पुरुषोत्तम प्रधानको छायांकन रहेको ‘लप्पन छप्पन २’ मा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय छ । महाशिवरात्रीको अवसरमा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको थियो । 
 
कोरोनाका कारण गत वर्षको चैत पहिलो साताबाट देश लकडाउन भएपछि करीब ९ महिना फिल्म निर्माण, प्रदर्शन र वितरण ठप्प भएको थियो । यो अवधिमा अर्बौं घाटा बेहोरेको फिल्म क्षेत्र यतिबेला पुरानो लयमा फर्किन संघर्ष गरिरहेको छ । तर, भारतमा संक्रमण बढेपछि यसको उच्च जोखिममा नेपाल पर्ने भएकाले फेरि एकपटक फिल्म क्षेत्र कोमामा जानसक्ने खतरा देखिएको छ । 
Most Visited News (monthly)