गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित कथा ‘परालको आगो’ स्कुले जीवनमा नपढ्ने र नसुन्ने विरलै नेपाली होलान् । श्रीमान्-श्रीमतीको झगडामा आधारित यो कथामा नाटकदेखि फिल्मसम्म बनेका छन् । ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले उक्त कथामा फिल्म बनाएका थिए । एकपटक फेरि त्यही कथा र नाममा नयाँ फिल्म बनेको छ, जुन भोलि शुक्रबार प्रदर्शन हुँदैछ ।
लक्ष्मण सुनारको निर्देशनमा बनेको ‘परालको आगो’मा प्रकाश सपूतले चामे र सुहाना थापाले गौंथली पात्रको भूमिकामा अभिनय गरेका छन् । अर्थात् उनीहरू श्रीमान्-श्रीमतीको भूमिकामा छन् । उनीहरू दुवैले अहिलेसम्म फिल्ममा गरेका पात्रहरूमध्ये यो सबैभन्दा चुनौतीपूर्ण थियो । कारण, फिल्मको पात्र उनीहरूको भोगाइ, सोचाइ र स्वभावभन्दा ठ्याक्कै विपरित थियो ।
गाउँघरमा जन्मे-हुर्केका प्रकाशले ‘चामे’ जस्ता पात्र समाजमा प्रत्यक्ष देखेका भए पनि सुहानाले बाँचेको परिवेश र ‘गौंथली’ पात्रको जीवनबीच भने आकाश-जमिनको अन्तर छ । यसले गर्दा उनलाई गौंथली बन्न सहज पक्कै थिएन । तर, मनोविज्ञानको विद्यार्थी भएकाले उनलाई उक्त पात्रको सोच, भावना, र व्यवहार बुझ्न भने धेरै सजिलो भयो ।

उनी भन्छिन्, ‘यो फिल्मका लागि मसँग एक वर्षको समय थियो । म आफैं मनोविज्ञानको विद्यार्थी भएकाले घरेलु हिंसा भोगेका महिलाको मनोविज्ञान र त्यसको ‘लेयरिङ’ थाहा थियो । र, यो मैले देखेको र सुनेको कथा पनि हो । यसैले गौंथली पात्र ‘रिलेटेबल’ नै थियो । मनोविज्ञानको विद्यार्थी नभएको भए चाहिँ गौंथलीको मनोविज्ञान बुझ्न गाह्रो पर्थ्यो होला ।’
सुहानालाई बाल्यकालदेखि नै कृतिहरू पढ्न निकै रुचि थियो । कृतिमाथि बनेका ‘वेस्टर्न’ फिल्महरू पनि उनले धेरै हेरेकी छन् । कृतिहरू पढ्दै गर्दा उनलाई पनि सबैले पढेको र सुनेको कथामा काम गर्न इच्छा थियो । ‘परालको आगो’बाट त्यो इच्छा पूरा हुँदा उनी खुसी छिन् । यो फिल्मको कथा यथार्थपरक रहेकाले पनि काम गर्न आफू तयार भएको उनको भनाइ छ ।
प्रकाशले पनि धेरै पढेको कथामध्ये एक हो, ‘परालको आगो’ । उनको हुर्काइ पनि कथाको जस्तै परिवेश र समाजमा भएको थियो । यसैले उनले चामेजस्तो पात्र समाजभित्रै देख्दै र भोग्दै आएका थिए । फिल्ममा पनि त्यही पात्रमा अभिनयको प्रस्ताव आउँदा उनी उत्साहित भएका थिए । तर, उनलाई त्यो पात्र फिल्ममा निभाउन भने गाह्रो परेको थियो ।
उनी भन्छन्, ‘चामेजस्तो पात्र मैले समाजमा देख्दै आएको थिएँ । यसैले पनि गुरुप्रसाद मैनालीले चामे पात्रको परिकल्पना यस्तो गर्नुभएको थियो होला र अहिले लक्ष्मण सुनारले देखाउन खोजेको चामे यस्तो होला भनेर मलाई पात्रको स्वभाव र मनोविज्ञान महसुस भइसकेको थियो । यसैले पात्रलाई बुझ्न मलाई केही सजिलो भयो । तर, त्यो पात्रमा अभिनय गर्न भने निकै गाह्रो भयो ।’
पात्रलाई महसुस गर्नु र प्राविधिक रुपमा फिल्ममा देखाउनु फरक हुने उनको अनुभव छ । ‘मैले पात्रको मनोविज्ञान त बुझेँ तर त्यसलाई देखाउन गाह्रो पर्यो । कराउन, गाली गर्न, श्रीमतीलाई कुट्ने सिनमा ममाथि प्रकाश सपूत हावी हुँदा अलि अप्ठ्यारो हुन्थ्यो । त्यसमा सुहाना थापाले सहज बनाइदिनुभयो । मलाई प्राविधिक रुपमा चामे पात्र गर्न गाह्रो भएकै हो,’ उनले भने ।
प्रकाशलाई सुरुमा चामे पात्रमा काम गर्न नै डर लागेको थियो । आफ्ना गीतमा महिला सशक्तिकरणको मुद्धा उठाउने गरेका उनले फिल्ममा भने महिलालाई नै कुट्नुपर्ने सिन थियो । फिल्मको पात्रले आफ्नो छवि नै बिगार्ने पो हो कि भनेर उनी डराएका थिए । तर, चामे पात्रको उतारचढावले भने उनलाई काम गर्न प्रेरित गर्यो । उनी यो पात्र निभाउन पाउनु आफ्नो सौभाग्य मान्छन् ।

