मिति : २०७३ माघ ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 3.00/5.00)
Text size:-
+
-

मल्टिप्लेक्सको दादागिरी कहिलेसम्म ?

नविन थापा, काठमाडौं, 2015/09/02
मंगलबार जे देखियो त्यो नौलो होइन | मात्र, संयोग हो | नेपाली फिल्मको व्यापारिक पृष्ठभूमिलाई नियाल्दा आधुनिक मानिने मल्टिप्लेक्स हलहरुले एउटा फिल्म मात्रै नभएर समग्र उद्योगको व्यवसायमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ | तर, विकासका क्रममा रहेको मल्टिप्लेक्सले नेपाली फिल्मलाई नजरअन्दाज गरेको घटना फिल्म 'भैरव'ले भोग्नुभन्दा धेरै पहिले देखिकै हो | 
 
मल्टिप्लेक्स हल व्यवसायिका आफ्ना आफू नजिकका फिल्म बाहेक अन्य फिल्मको उक्त हलहरुमा प्रदर्शन झिनो आशामात्रै हो | नेपाली फिल्मको व्यवसाय र त्यसका चुनौती समयक्रमसंगै परिवर्तन हुदै गएका छन् | प्रबिधिको आधुनिकीकरणले फिल्म निर्माणमा ठुलो चुनौती थपिएको छ | 
 
विश्वमै मल्टिप्लेक्स ट्रेन्ड व्यापक रुपमा बढेकाले त्यसको लहरले नेपाललाई पनि छोएको हो | आर्थिक रुपमा महँगो भएपनि स्तरीय सेवा सुबिधा सहित अन्तर्राष्ट्रिय स्तरको पिक्चर क्वालिटीले दर्शक मल्टिप्लेक्समा तानिएका हुन् | तर, यस्तो अवस्थामा बढी मात्रामा हलिउड र बलिउडका फिल्म प्रदर्शन गर्ने प्रवृतिले नेपाली फिल्म छायाँमा पर्ने गरेका छन् |
 
बलिउड र हलिउडका फिल्मले गर्दा नेपाली फिल्मले मल्टिप्लेक्समा दोस्रो दर्जाको ब्यबहार भोग्नु परिरहेको छ | ५० वर्षको अवधिमा पनि नेपाली फिल्मले पहिचान स्थापना गर्न नसकिरहेको अवस्थामा यस अघि कुनै पनि विदेशी फिल्मलाई नेपाली सरह सुविधा दिन नहुने भन्दै निर्माता संघ, निर्देशक समाज लगायतका संघसंस्थाका पदाधिकारीले आन्दोलन मात्रै गरेनन्, नेपालमा हिन्दी फिल्मको ठाडो प्रभाव रहेको भन्दै हिन्दी फिल्मलाई कोटा प्रणाली अनुरुप नेपाल ल्याउने र भारतमा प्रदर्शन भएको एक सातापछि मात्रै नेपालमा प्रदर्शन गर्नुपर्ने नियम बनाउन आग्रह गर्दै चलचित्र विकास बोर्डमा ज्ञापनपत्र समेत बुझाए । तर, त्यो माग सम्बोधन त भएननै वर्तमान अवस्थामा उक्त माग बिलिन तुल्य भएको छ |
 
नेपालमा डिजिटल प्रणाली सुरु गर्दा डिजिटल प्रणाली जडान गर्ने फिल्म  हलले पाँच वर्षसम्म बिनासर्त नेपाली फिल्म मात्रै चलाउनुपर्ने सम्झौता गरेका थिए । निर्माता संघको पहलमा भएको सो सम्झौता तीन महिना नपुग्दै हल सञ्चालकले उलंघन गरेका थिए । नियम मिच्ने निकायलाई कारवाही नहुदा जहिलेपनि नेपाली फिल्म हेपिनु परेको छ |
 
पछिल्लो समय नेपाली फिल्मको सङ्ख्यात्मक बृद्धीसँगै फिल्म हलमा प्रविधि र लगानी भित्रिने क्रम बढ्दो छ । १२ वर्षअघि देशभर ४०० हाराहारी फिल्म हल रहेकोमा नेपाल चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार अहिले १५० वटा मात्र छन् । राजधानीमा कमलपोखरीको सिटी सेन्टरको विग मुभिजमा तीन वटा, सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स (क्वेष्ट फिल्म एक्सपेरियन्स) सिटी सिनेमामा तीन वटा, चुच्चेपाटीको केएल टावरको एफक्युवमा तीन वटा, सुन्धाराको सिभिल ट्रेड सेन्टरमा २ वटा, कमलपोखरीमै कुमारी, जयनेपाल हुदै दरबारमार्गमा किउज सिनेमा सहितका अन्य थुप्रै हल संचालन भइरहेकोमा राजधानी बाहिर भैरहवा, बुटवल, नारायणगढ, पोखरा, धरान, बिर्तामोड लगायतका स्थानमा मल्टिप्लेक्स हल संचालनमा आएका छन् | 
  
करीब ६० वर्ष लामो फिल्म हलको इतिहासमा नेपाली फिल्म हलहरूले प्रविधिमा लामो फड्को मारेका छन् । नेपालको पहिलो फिल्म हल जनसेवाको सञ्चालनदेखि आजसम्म नेपाली हलहरू क्रमिक रूपमा प्रविधि परिवर्तनमा समेत लागेका छन् । दोस्रो हलका रूपमा स्थापना भएको जयनेपालबाट शुरू भएको प्रविधि अहिले तेस्रो नम्बरमा स्थापना भएको विश्वज्योति, गोपीकृष्ण लगायत देशैभरका हलसम्म पुगिसकेको छ । 
 
ब्राण्डिङलाई अंगाल्दै एउटा कम्पनीले विभिन्न फिल्म हल सञ्चालन गरिरहेको पाउन सकिन्छ । क्वेष्ट इण्टरटेनमेण्टले जयनेपालमा एक, कुमारीमा दुई र सिभिल मलमा तीन गरी ६ फिल्म हल 'क्यूएफएक्स' ब्राण्डमा सञ्चालन गरेको छ । ब्राण्डतिर लम्केको अर्को कम्पनी गोपीकृष्ण मुभीज हो । गोपीकृष्णमा ८ वटा हल छन् । गोपीकृष्ण मुभीजले हीरारत्न चलचित्र भवन पनि सञ्चालन गर्दै आएको छ । गुण सिनेमा र बिग सिनेमा यस्तै थप ब्राण्डहरू हुन् । विश्वज्योतिले छुट्टै मलको पनि निर्माण गरिरहेको छ । जहाँ शपिङ सुविधाका साथै आधुनिक प्रविधिसहित अर्को हलसमेत सञ्चालनमा आउदै छ |
 
एकै स्थानमा धेरै फिल्म हेर्न पाइने तथा अन्य सुविधा समेत भएकाले दर्शक मल्टिप्लेक्समा तानिएका छन् । मल्टिप्लेक्सकै कारण देशका नाम चलेका पुराना हलहरू भने बन्द हुँदै कतै पार्टी प्यालेस त कतै हाउजिङको रूपमा परिणत भएका छन् | काठमाडौंको पुरानो र ख्याति कमाएको रञ्जना हल, कुनै बेला देशको सबैभन्दा ठूलो पर्दा भएको तारा हल, मनकामना हल, अशोक जस्ता फिल्म घरहरूले अहिले अर्कै रूप लिइसकेका छन् । काठमाडौंबाहिर ठूला हल भएका पोखरा, नारायणगढ, दमक, विराटनगर तथा अन्य शहरको स्थिति पनि फरक छैन । 
 
तर, दर्शकले मन पराई राखेको नेपाली फिल्म प्रदर्शन गर्दागर्दै हलबाट निकालेर हलिउड तथा बलिउड फिल्म प्रदर्शन गर्नुले मल्टिप्लेक्सको एकलौटी राज छरपष्ट झल्कीन्छ | लामो समयको अन्तराल पश्चात फिल्म क्षेत्रमा फर्किएका एक्सन स्टार निखिल उप्रेतीले मंगलबार सोहि हेपाहा प्रवृति महसुस गरे | नेपाली फिल्ममा देखिएको सुस्त बजार व्यवसायलाई उकास्न दौडी रहेको फिल्म 'भैरव'ले राम्रो कमाई गर्दा गर्दै पनि मल्टिप्लेक्सबाट हटाइएपछि निखिल आक्रोशित बने। 
 
सुन्धारा स्थित क्यूएफएक्स एक शोमा नै ६८ हजारको व्यापार हुँदाहुदै पनि आफ्नो फिल्म हटेको भन्दै आक्रोश पोखे र निर्माता संघमा वितरक बिरुद्ध उजुरी दर्ता गरे । निखिलले भोगेको यो भोगाई बर्षौदेखि सयौ निर्माता निर्देशकले भोग्दै आएको भोगाई हो | नेपाली फिल्म हेर्न लायक हुँदैनन, ती फिल्म प्रदर्शन गरे आफ्नो स्ट्याण्डर्ड गिर्छ भन्ने जस्ता तुच्छ विचारले गर्दा नै समग्र फिल्म उद्योगले बद्नामीसंगै आर्थिक रुपमा करोडौको घाटा ब्यहोर्नु परिरहेको छ | राष्ट्रियताको नारा लगाउने तिनै ब्यबसायीले नेपाली फिल्मलाई प्राथमिकतामा नराख्दा उद्योग धरासायी हुने अवस्थामा पुग्दैछ |
 
बलिउड र हलिउडका फिल्मसँग नेपाली फिल्मको स्तर मापन गर्नु नै प्रमुख कारक हो, मल्टिप्लेक्सको दादागिरी | यस बिषयलाई गम्भिरताका साथ लिदै नेपाली फिल्मको विकासका लागी खुलेका संघसंस्थाको समयमै पहलकदमी अत्यावश्यक रहेको छ | "सर्व सचेत भया" !