
अभिनेता गौरव पहारी फिल्म ‘शमशेर’मा अहिलेसम्मकै भिन्न भूमिकामा प्रस्तुत हुने भएका छन् । आइतवार निर्माण टिमले फिल्ममा गौरव अनुबन्ध भएको जानकारी दिँदै सार्वजनिक गरेको फर्स्टलुक पोस्टरमा उनी डरलाग्दो अवतारमा देखिएका छन् । लामो कपाल, रगताम्मे अनुहारमा रिसको ज्वारभाटा र हातमा खुर्पा बोकेका उनी फिल्ममा भिलेनको भूमिकामा देखिने पोस्टरले बोल्छ ।

कोभिडका कारण २ वर्षदेखि हुन नसकेको ‘डी सिने अवार्ड’को बाह्रौं संस्करण चैत १२ गते धुलिखेलमा हुने भएको छ । आइतवार अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ । २०७६ मा रिलिज भएका ३६ फिल्म सहभागी भएको अवार्डमा उत्कृष्ट नायकको विधामा दयाहाङ राई, पुष्पल खड्का, आर्यन सिग्देल, दीपकराज गिरी र विपिन कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।

महिला फिल्म निर्देशक तथा समृद्धि फाउन्डेसन नेपालकी अध्यक्ष संगीता श्रेष्ठले नेपालको कानुन फितलो भएकै कारण अपराध र अपराधीको मनोबल घट्न नसकेको र बलात्कारका घटना बढेको बताएकी छन् । बलात्कार र हत्याहिंसाजस्ता जघन्य अपराधमा संलग्न अपराधीलाई हदैसम्मको कारबाही गर्न नसक्ने नेपालको कानुन किन यति कमजोर भन्दै उनले प्रश्न समेत उठाएकी छन् ।

नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी (भर्चूअल मुद्रा) को विज्ञापनमा आफ्नो तस्विर प्रयोग भएपछि अभिनेत्री प्रियंका कार्कीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिएकी छन् । केही फेसबुक पेजहरुले जानकारीबिना क्रिप्टोकरेन्सीको प्रचारमा आफ्नो भिडियो तथा तस्विर प्रयोग गरेको भन्दै उनले दोषीलाई कारवाहीको माग गर्दै सीआईबीमा उजुरी दिएकी हुन् ।

आउँदो बैशाख १६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘मन्त्र’को ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन केन्द्रमा छन् । भिन्न गेटअप र लवजमा प्रस्तुत उनीहरुको प्रेममा आउने उतार-चढावलाई ट्रेलरमा देखाइएको छ । ट्रेलरमा लोकेशन र छायांकन पक्ष उम्दा छ ।

फिल्म ‘द कश्मीर फाइल्स’ले कमाईमा नयाँ इतिहास रच्ने देखिएको छ । प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाखको औसत ओपनिङ गरेको फिल्मले दोस्रो दिनबाट बक्सअफिसमा उछाल ल्याउन सुरु गरेको थियो । फिल्मले प्रदर्शनको पहिलो हप्तामा नै सय करोडको आँकडा छोएको थियो । बलियो ‘वर्ड अफ माउथ’ले गर्दा फिल्मको कमाईको रफ्तार दिन प्रतिदिन बढेको बढ्यै छ ।

