आउँदो बैशाख १६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘मन्त्र’को ट्रेलर सार्वजनिक भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन केन्द्रमा छन् । भिन्न गेटअप र लवजमा प्रस्तुत उनीहरुको प्रेममा आउने उतार-चढावलाई ट्रेलरमा देखाइएको छ । ट्रेलरमा लोकेशन र छायांकन पक्ष उम्दा छ ।
हिमाली प्रेमकथा भनिएको फिल्ममा बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारहरुको पनि अभिनय छ । खिल बहादुर तामाङ निर्देशित फिल्ममा परिक्षेद सेनको कथा, साम्तेन भुटिया, सुनिल निहुरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन र सुजिल कर्माचार्यको संगीत रहेको छ ।

ट्रेलर रिलिज कार्यक्रममा सौगातले छायांकनको समयमा निकै गाह्रो भएपनि फिल्म राम्रो बनेको बताए । ‘फिल्ममा घोडा दौडको दृश्य भएकाले छायांकनभन्दा अगाडि केही दिन घोडा चलाउन सिकेको थिएँ । तर, मेरो भागमा परेको घोडा निकै अटेरी रहेछ । राम्रो बाटो छाडेर भीर-भीर मात्र हिँड्थ्यो । केही पटक लडेँ पनि । पछि त्यही घोडाले मलाई पहिलो बनायो,’ उनले स्मरण गरे ।
बुद्दि तामाङले पनि घोडा सिक्ने क्रममा काँडाघारीमा लडेको घटना सम्झिए । कार्यक्रममा अभिनेत्री पुन भने अनुपस्थित थिइन् । केही हप्तादेखि उनले सगरमाथा आरोहणका लागि तामिल लिइरहेकी छन् । निर्देशक तामाङ भने ‘मन्त्र’लाई अर्गानिक फिल्म भन्न रुचाउँछन् । ‘फिल्म भयंकर छ भन्दिनँ । सिम्पल लभस्टोरीलाई सिम्पल तरिकाले पस्किने इमानदार प्रयास गरेको छु,’ उनले भने ।
फिल्मको कार्यकारी निर्मातामा देबेन्द्र मानन्धर र निर्मातामा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठ छन् । गोर्खा सिरान चोक एन्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको छायांकन ५१०० मिटरभन्दा माथिको उचाइँमा रहेको मनास्लु हिमालको बेसक्याम्पमा भएको हो । फिल्मलाई काठमाडौंमा काफिया फिल्मस् र मोफसलमा एफडि कम्पनीले वितरण गर्नेछ ।

