%20(3)(1).jpg)
नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी (भर्चूअल मुद्रा) को विज्ञापनमा आफ्नो तस्विर प्रयोग भएपछि अभिनेत्री प्रियंका कार्कीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दिएकी छन् । केही फेसबुक पेजहरुले जानकारीबिना क्रिप्टोकरेन्सीको प्रचारमा आफ्नो भिडियो तथा तस्विर प्रयोग गरेको भन्दै उनले दोषीलाई कारवाहीको माग गर्दै सीआईबीमा उजुरी दिएकी हुन् ।
आइतवार सीआईबीले क्रिप्टोकरेन्सीको विज्ञापनमा प्रियंकाको तस्विर प्रयोग भएको देखेपछि उनलाई सोधपुछका लागि बोलाएको थियो । तर, उनले यसबारेमा आफूलाई कुनै जानकारी नभएको बताएकी थिइन् । उनले सीआईबीकै सुझावमा फोटो दुरुपयोग गर्ने व्यक्ति र फेसबुक पेजविरुद्ध उजुरी दिएको जानकारी प्राप्त छ । उनले उजुरी दिए लगत्तै सीआईबीले अनुसन्धान सुरु गरेको छ ।
क्रिप्टोकरेन्सी एक गुप्त मुद्रा हो, जुन इन्टरनेटमार्फत भर्चुअल मुद्राका रूपमा संसारभर चल्ने गर्छ । आम मानिसले दैनिक उपभोग गर्ने जुनसुकै सामान किन्दा पनि सरकारलाई कर तिर्नुपर्छ । तर, अनलाइन बेटिङ वा क्रिप्टो कारोबारका लागि ठूलो मात्रामा पुँजी बाहिरिँदा वा भित्रिँदा त्यो करको दायरामा आउँदैन । यही कारण नेपाल सरकारले क्रिप्टोकरेन्सीलाई नेपालमा अवैध मानेको छ ।

