
अभिनेता गौरव पहारी फिल्म ‘शमशेर’मा अहिलेसम्मकै भिन्न भूमिकामा प्रस्तुत हुने भएका छन् । आइतवार निर्माण टिमले फिल्ममा गौरव अनुबन्ध भएको जानकारी दिँदै सार्वजनिक गरेको फर्स्टलुक पोस्टरमा उनी डरलाग्दो अवतारमा देखिएका छन् । लामो कपाल, रगताम्मे अनुहारमा रिसको ज्वारभाटा र हातमा खुर्पा बोकेका उनी फिल्ममा भिलेनको भूमिकामा देखिने पोस्टरले बोल्छ ।
साउथ फ्लेवरको पोस्टरमा गौरवको काखमा एक व्यक्ति रगताम्मे भएर लडेका छन् । फिल्ममा राघवको भूमिकामा देखिन लागेका उनको लुक्सले साउथ फिल्म ‘केजिएफ २’मा सञ्जय दत्तको लुक्सको झल्को दिन्छ । गौरवको लुक्सले ‘शमशेर’प्रति दर्शकको कौतुहलता बढाएको छ । अहिलेसम्म नकारात्मक भूमिकामा प्रस्तुत नभएका गौरवका लागि यो भूमिका चुनौतीपूर्ण मानिएको छ ।
फिल्ममा शमशेरको भूमिकामा अभिनेता मनिष राउत देखिँदैछन् । एक्सन जनरामा बन्ने फिल्म मनिष र गौरवबीचको भिडन्तमा केन्द्रित हुने बताइएको छ । फिल्म सम्बन्धि अध्यापन गराउँदै आएको एभरेष्ट फिल्म एकेडमी र डिआर डेनिमको संयुक्त लगानी रहने फिल्म एक्सन जनरामा बन्न लागेको हो । अहिले निर्माण टिमले मनिषको अपोजिटका लागि नायिकाको खोजी गरिरहेको छ ।
फिल्ममा मनिष र गौरवसँगै सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिष पराजुली लगायतका कलाकारको पनि अभिनय रहनेछ । चैत अन्तिम साताबाट छायांकन सुरु हुन लागेको फिल्मलाई गौरी शंखर र विकाश सिटौलाले मिलेर छायांकन गर्नेछन् । काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा खिचिने फिल्मको निर्माणमा सीबर्ड्स इन्टरटेनमेन्टले सहकार्य गरेको छ ।

