
अभिनेत्री पूजा शर्माले फिल्ममा जुन अभिनेतासँग काम गर्छिन्, उसैसँग अफेयरमा हल्ला चल्छ । ‘प्रेमगीत’ रिलिजताका प्रदीप खड्का र ‘म यस्तो गीत गाउँछु’ को समयमा पल शाहसँग उनको नाम जोडिएको थियो । ‘रामकहानी’ मा सँगै काम गरेपछि उनी अभिनेता आकाश श्रेष्ठको प्रेममा डुबेको चर्चा छ । तर, उनीहरु आफूहरुबीच साथीभन्दा माथिको सम्बन्ध नभएको दाबी गर्छन् ।

गत वर्षको फागुन अन्तिममा अभिनेत्री आँचल शर्मा र डा.उदिप श्रेष्ठले लगनगाँठो कसेका हुन् । दुई वर्ष लामो प्रेम सम्बन्धपछि विवाह गरेका उनीहरु सार्वजनिक कार्यक्रममा खासै एकसाथ जान पाएका थिएनन् । विवाहको एक हप्तामा देश लकडाउन भएपछि उनीहरुले एकअर्कासँग नै बढी समय विताए । अहिले भने निमन्त्रणा आउने ठाउँमा उनीहरु साथमा नै पुग्न थालेका छन् ।

मंसिर २२ गते विजयन्द्र सिंह रावतसँग लगनगाँठो बसेकी अभिनेत्री श्वेता खड्काले बिहीवार साँझ काठमाडौंको ठमेलस्थित अलफ्ट होटलमा भव्य रिसेप्सन पार्टी दिएकी छन् । विवाहको दोस्रो दिन गोकर्ण फरेस्ट रिसोर्टमा श्वेताका आफन्त र धनगडीमा विजयन्द्रका आफन्तहरुलाई रिसेप्सन पार्टी दिएका उनीहरुले बिहीवार सेलिब्रेटी र मिडियाकर्मीलाई रिसेप्सन पार्टी दिएका हुन् ।

चलचित्र विकास बोर्डले बनेपा नगरपालिका वडा नं १० भैंसेपाटीमा फिल्म छायांकनका लागि स्टूडियो निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) र इआइए बोलपत्रको प्रक्रिया सुरु गरिएको बोर्ड अध्यक्ष दयाराम दाहालले जानकारी दिए । स्टुडियो निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा दुई करोड बजेट छुट्याएको थियो ।

अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी स्टारर फिल्म ‘मनसँग मन’ को गीत सार्वजनिक भएको छ । माघे संक्रान्तिको अवसर पारेर बिहीवार सार्वजनिक गरिएको ‘मेरो त भाग्य’ बोलको गीतमा डेभिड शंकर र भावना थापाको स्वर, विपिन किरणको शब्द र दीपक शर्माको संगीत रहेको छ । सौरभ लामाले खिचेको गीतको भिडियोको सम्पादन अर्जुन जिसीले गरेका हुन् ।

साउथ सुपरस्टार थलापति विजय र विजय सेतुपति स्टारर ‘मास्टर’ लाई बक्सअफिसमा जबरजस्त ओपनिङ मिलेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन ४० करोडको आसपास कमाई गरेको भारतीय मिडियाले बताएका छन् । कोरोना कहरको समयमा बम्पर ओपनिङ गर्ने यो पहिलो फिल्म हो । लोकेश कनागराज निर्देशित फिल्म बुधवार तमिल, तेलुगु र कन्नडमा रिलिज भएको थियो ।

