
काठमाडौं । सवीर श्रेष्ठको निर्देशनमा बनेको फिल्म ‘३६ को आँकडा’को पहिलो गीत ‘बहुलाउँछु कि क्या हो’ सार्वजनिक गरिएको छ । घटस्थापनाको अवसर पारेर आइतबार सार्वजनिक यस गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ भने सत्यराज आचार्य र अञ्जु पन्तले स्वर दिएका छन् । प्रेममा परेपछि मनमा उब्जिने भावनालाई गीतमा व्यक्त गरिएको छ ।
राजु शाहको कोरियोग्राफी रहेको गीतको भिडियोमा दुई जोडीको प्रेमलाई देखाइएको छ । एकातिर रेखा थापा र महेश त्रिपाठी छन् भने अर्कोतिर पूजा शर्मा र पुष्प खड्का । भिडियोमा उनीहरूको केमेस्ट्री आकर्षक देखिएको छ । छायांकन र कोरियोग्राफी पनि प्रशंसनीय छ । गीतले प्रेममा रहेका दर्शकलाई ‘नोस्टाल्जिक’ बनाउन सक्छ ।
आगामी मंसिर १७ गते (३ डिसेम्बर)बाट प्रदर्शन हुने यस फिल्ममा निरुता सिंह, निशा अधिकारी, सुवर्ण थापा, रमेश चन्द सिडारी, गीत विष्टलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । निरुताले यही फिल्मबाट करिब ७ वर्षपछि अभिनयमा पुनरागमन गरेकी हुन् । पछिल्लो पटक उनी सन् २०१९ मा प्रदर्शन भएको फिल्म ‘दाल भात तरकारी’मा देखिएकी थिइन् ।
रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा सवीर श्रेष्ठको कथा, शिवम् अधिकारीको पटकथा तथा संवाद, ईश्वर सिङ्केमेनाको छायांकन, बनिष शाह र रामप्रसाद चौधरीको सम्पादन तथा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । फिल्मलाई सरस्वती थापा (रेखा थापाकी आमा), दुर्गा सापकोटा र गीता श्रेष्ठले निर्माण गरेका हुन् ।

