Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कबड्डी ५’ व्यावहारिक काजीको कथा हो : रामबाबु गुरुङ

फिल्मीखबर, काठमाडौं, 2026/10/11

rambabu gurung and dayahang rai

 

काठमाडौं । नेपालको सर्वाधिक सफल फ्रेन्चाइजमध्ये एक हो, ‘कबड्डी’ । यसका चारवटा श्रृंखलाले घरेलु बक्स अफिसमा करोडौं कमाए । चौथो श्रृंखला (कबड्डी ४) त २०७९ सालमा नेपालको सर्वाधिक कमाउने फिल्म समेत बनेको थियो । तर, यो फिल्मका हरेक श्रृंखलाको कथा र परिवेश भने एउटै थियो । अर्थात् मुस्ताङको सेटिङमा सोल्टिनीलाई पाउन काजीले गर्ने संघर्ष । 

वर्षौंदेखि एउटै कथा र पात्रलाई भजाएर कमाइरहेको आरोपपछि ‘कबड्डी’का निर्माताले चौथो भागलाई ‘द फाइनल म्याच’को नाम दिए । यसको स्पष्ट अर्थ थियो, अब ‘कबड्डी’को कथा सकियो । तर, चार वर्षपछि उही काजीको कथामा फेरि ‘कबड्डी’ निर्माण भएको छ । यसको पाँचौं श्रृंखला दसैंको अवसर पारेर कात्तिक ६ गतेबाट प्रदर्शनमा आउँदैछ । 

‘कबड्डी ५’ घोषणा भएदेखि धेरैको एउटै जिज्ञासा थियो, ‘के फेरि काजी सोल्टिनीकै पछि लाग्ने हो ?’ तर, यसपटक निर्देशक रामबाबु गुरुङले काजीको प्रेमभन्दा पनि उसको व्यावहारिक पाटोलाई देखाएका छन् । उनी भन्छन्, ‘काजीको प्रेम जीवन पूरा भयो । तर, कथा त्योभन्दा अगाडि पनि त हुन्छ । त्यसैले ‘कबड्डी ५’मा हामीले काजीको व्यावहारिक पाटोलाई कोट्याएका छौं ।’

उनका अनुसार यसपटक फिल्मका पात्रहरू परिपक्व देखिनेछन् । ‘उमेर र भोगाइका हिसाबले हामी पनि अलि परिपक्व हुँदै आयौं । त्यसैगरी ‘कबड्डी ५’मा पात्रहरू पनि परिपक्व भएका छन्,’ उनी भन्छन्, ‘पहिला पात्रहरू एकदमै रिसाहा थिए । जोक बढी गर्थे । अब त्यसमा मात्र केन्द्रित नभएर उनीहरू अहिले कुन मनोदशाबाट गुज्रिरहेका छन् भन्ने देखाउन खोजेका छौं ।’

निर्देशक गुरुङ अब ‘कबड्डी’लाई एउटा दशक भने रोक्न चाहन्छन् । त्यसपछि काजीसहितका पात्रहरूको अर्धवैशे उमेरको कथा भन्ने उनको योजना छ । यसबारे उनी भन्छन्, ‘अब मेरो योजना चाहिँ के हो रियल काजी (दयाहाङ राई) पनि अलि बुढो हुनुपर्‍यो । उसँगै काजी पनि बुढो हुन्छ । त्यसपछि काजी कस्तो संसारमा अल्झिरहेको छ भन्ने देखाउन मन छ ।’

उनी ‘कबड्डी ५’ले बक्स अफिसमा कीर्तिमान कायम गर्नैपर्छ भन्ने दबाब आफूमा नरहेको पनि बताउँछन् । ‘चौथो भागले कीर्तिमान कायम गर्‍यो, अब यसले पनि गर्नैपर्छ भन्ने हिसाबले मैले सोचेकै छैन । फिल्मले धेरै व्यापार गर्दियोस् भन्ने चाहिँ हुन्छ । तर, मेरै फिल्मले ‘रेकर्डब्रेक’ गर्नुपर्छ भन्ने अपेक्षा चाहिँ म कहिल्यै राख्दिनँ,’ उनले भने । 

बासुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा दयाहाङ राई, विपिन कार्की, रिश्मा गुरुङ, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, सिर्जना गुरुङ, पुष्कर गुरुङ, कविता आले, कमलमणि नेपाल, अरुणा कार्कीलगायतको अभिनय छ । रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सागर राज हुन् ।