Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘झिँगेदाउ २’ प्रिमियर : पूर्ण पारिवारिक फिल्म भन्दै प्रशंसा

फिल्मीखबर, काठमाडौं, 2026/09/17

jhinge dau 2

 

२०७९ सालको सुपरहिट फिल्म ‘झिँगेदाउ’को दोस्रो श्रृंखला ‘झिँगेदाउ २’ भोलि शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । टिजर−ट्रेलर र तीज ब्याटल गीतका कारण चर्चामा रहेको फिल्मको बुधबार साँझ ललितपुरको लबिम मलमा प्रिमियर आयोजना गरिएको थियो । फिल्मकर्मीसहित विभिन्न क्षेत्रका पाँच सयभन्दा बढीको उपस्थिति रहेको प्रिमियर स्मरणीय बन्यो । 

फिल्म हेर्न पुगेका अधिकांश फिल्मकर्मीले मौलिक कथावस्तु, कलाकारहरूको अभिनय, छायांकन, मेकिङ र गीतसंगीतको मुक्तकण्ठले प्रशंसा गरे । फिल्म पूर्ण रूपमा पारिवारिक र मनोरञ्जक रहेको बताउँदै हरेक सन्तानले आफ्नो बाबु−आमाको साथमा हेर्नुपर्ने धारणा व्यक्त गरे । पहिलो श्रृंखलाभन्दा फिल्म अझ राम्रो बनेको प्रतिक्रिया पनि धेरैको थियो । 

‘जेरी अन टप’का निर्माता सरोज न्यौपानेले ‘झिँगेदाउ २’ हेर्नैपर्ने फिल्म बनेको बताए । उनले सञ्चारकर्मीसँग भने– ‘यो फिल्मलाई मन मनैदेखि तारिफ गर्न चाहन्छु । निर्देशकले एकदमै इमानदार भएर रमाइलो र मनछुने फिल्म बनाउनुभएको छ । यो फिल्म तिहारसम्म चल्छ भन्ने मलाई लाग्छ ।’ उनले सामाजिक सञ्जालमा समेत एक पोस्ट गर्दै फिल्मलाई ५ मा ४.५ रेटिङ दिएका छन् । 

कलाकार तथा निर्देशक जयकिशन बस्नेतले ‘झिँगेदाउ २’ले पहिलो हाफमा हँसाएको र दोस्रो हाफमा रुवाएको बताए । उनले भने, ‘केही फिल्म राम्रा हुन्छन् । तर, केही फिल्म धेरै नै राम्रा हुन्छन् । ‘झिँगेदाउ २’ चाहिँ धेरै नै राम्रो फिल्ममा पर्छ । मलाई त एकदमै मनपर्‍यो । यो फिल्म हरेक दर्शकले आफ्ना बाबु−आमाको साथमा हेर्नुपर्छ ।’

फिल्म हेरेपछि समीक्षक तथा लेखक सामिप्यराज तिमिल्सिनाले सामाजिक सञ्जालमा खुलेरै तारिफ गरेका छन् । उनले लेखेका छन्, ‘झिँगेदाउ २’ शब्दले मात्र हैन भावले पनि पूर्ण पारिवारिक, पूर्ण मनोरन्जक र मौलिक फिल्म बनेको छ । पिरियड सेटिङमा विश्वसनीय फिल्म बनाउनु गाह्रो काम हो । फिल्मले यो चुनौती स्वीकार गर्दै फिल्म निर्माणलाई गम्भीर रूपमा लिन प्रेरित गर्छ ।’

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको यो फिल्मको देशभरका हलमा अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । फिल्मले बिहीबार अपराह्न १ बजेसम्म देशव्यापी डेढभन्दा बढी शो पाएको डिजिटल वालेट खल्ती एपमा देखिन्छ । ‘झिँगेदाउ २’ हिट फिल्मको सिक्वेल भएकाले घरेलु बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने अपेक्षा गरिएको छ ।

कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको ब्यानरमा निर्माण भएको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल विष्ट, हिउँवाला गौतम, आर्यन सिग्देल, बसुन्धरा भुषाल, चैत्यदेवी, सरोज खनाल, संगम भण्डारी, अयभराज बराललगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्मले आमाको महत्त्वलाई दर्शाउँदै पारिवारिक सम्बन्धको कथा पेस गरेको छ ।