
‘जारी’ जोडी दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘रातो घेरा : द रेड सर्कल’को छायांकन सकिएको छ । आइतबार काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा अन्तिम दृश्य खिचिएसँगै डेढ महिनामा फिल्मको छायांकन पूरा भएको हो । फिल्मलाई यस वर्षको मंसिर १८ गते प्रदर्शन गर्ने तयारी गरिएको छ ।
अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ र मिरुनासहित सुनिल पोखरेल, भोलाराज सापकोटा, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, शेखर चापागाईँ, डी.बी. गुरुङ, बलबहादुर गुरुङ, इन्गी हाप्पो सुनुवार, खड्गबहादुर पुन, सुरज तमुलगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्म सत्य घटनामा आधारित रहेको जनाइएको छ ।
विश्राम फिल्म्सका लागि जीवन गुरुङले फिल्मको निर्माण गरेका हुन् । उनले यसअघि गुरुङ भाषाको फिल्म ‘ङोल्स्यो रानी’ बनाएका थिए । ‘रातो घेरा’ भने उनको पहिलो मूलधारको फिल्म हो । कविता गुरुङ, भोज गुरुङ र सरुन शेरचनको पनि लगानी रहेको फिल्ममा सुमन गुरुङ र खेम राना सह-निर्मातामा छन् । फिल्मको कथा तथा पटकथा राजु स्याङताङले लेखेका हुन् ।
सामाजिक विषयवस्तुमा आधारित फिल्मको छायांकन शिशिर बिसंखेले गरेका हुन् भने सम्पादन जीवन थापाले गर्नेछन् । यसमा मनोज थापा मगर र सागर आलेको संगीत, मनोज थापा मगरको पार्श्व संगीत, सागर आले र शान्तिश्री परियारको स्वर तथा प्रदीप लामाको कोरियोग्राफी रहेको छ । यो फिल्मको दोस्रो भाग पनि निर्माण हुने जनाइएको छ ।

