अभिनेता निखिल उप्रेतीको निर्देशकीय कमब्याक फिल्म ‘आचार्य’को पहिलो गीत ‘लै बरी लै’ सार्वजनिक गरिएको छ । असोज ९ गतेबाट प्रदर्शन हुने फिल्मको यस गीतमा युग भुसालको शब्द तथा संगीत छ भने गौरांग शेखर शर्मा र ज्योत्सना जावडाको स्वर सुन्न सकिन्छ । गौरांग र ज्योत्सना भारतीय गायक−गायिका हुन् ।
सौरभ लामाको छायांकन तथा किरण थापाको कोरियोग्राफी रहेको गीतको भिडियोमा निखिल र सजिना श्रेष्ठ रोमान्टिक अवतारमा देखिएका छन् । उनीहरूको नृत्य शैलीले दर्शकको ध्यान खिच्न सक्छ । तर, सजिनासँग निखिलको केमेस्ट्री भने केही अस्वाभाविक देखिन्छ । त्यसको मुख्य कारण उमेर अन्तर हो । यद्यपि, मेकिङको हिसाबले भिडियो स्तरीय छ ।
निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा निखिल र सजिनासहित प्रमोद अग्रहरी, सञ्जय गुप्ता, रोहित चौधरी, ध्रुव कोइराला, सरिता ज्ञवाली, भारतीय कलाकारहरू दीपराज राणा, रघु बाबु, रघू कारुमन्चीलगायतका कलाकारहरूको अभिनय रहेको छ । यही फिल्मबाट पूर्णिका सिंजापतिले अभिनेत्रीको रूपमा डेब्यू गरेकी छन् ।
निखिल स्वयंको लेखन रहेको फिल्ममा कृष्ण भट्टराई निर्माता तथा मिथिलेश तिवारी कार्यकारी निर्मातामा छन् । फिल्ममा मनु विश्वकर्मा, नवराज कृष्ण थापा र सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, शुक्रराज शाहको द्वन्द्व निर्देशन, युग भुसालको संगीत, दक्षिण भारत (तमिल)का कालाचरणको पार्श्व संगीत तथा गम्भीर विष्ट र किरण थापाको नृत्य निर्देशन रहेको छ ।

