.jpg)
नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको भदौ १२ गतेदेखि रिक्त रहेको अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको छ । बोर्डको तालुकवाला निकाय सञ्चार तथा सूचना मन्त्रालयले बिहीबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै इच्छुक र योग्य व्यक्तिलाई असोज ७ गते बुधबारसम्म आवेदन पेस गर्न आग्रह गरेको हो ।
अध्यक्ष पदका लागि मन्त्रालयले केही मापदण्ड समेत तोकेको छ । जसअनुसार नेपाली नागरिक हुनुपर्ने, ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र नेपाली फिल्म उद्योगमा निरन्तर कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने, नियुक्ति तथा मनोनयनसम्बन्धी दिग्दर्शन, २०८३ को दफा १२ बमोजिम अयोग्य नभएको हुनुपर्नेछ ।
मन्त्रालयले असोज ७ गतेसम्म प्राप्त आवेदनमध्येबाट ‘सर्ट लिस्ट’ गरेर तीनजनाको नाम छनोट गर्नेछ । त्यसका लागि आवेदकको कार्ययोजना प्रस्तुत र अन्तर्वार्ता हुनेछ । मन्त्रालयको एक समितिले तीनजनाको नाम छनोट गरेपछि मन्त्रिपरिषद्मा पठाइनेछ । त्यसपछि मन्त्रिपरिषद्को बैठकले तीनजनामध्ये एकजनालाई दुई वर्षका लागि बोर्ड अध्यक्षमा नियुक्त गर्ने कानुनी प्रावधान छ ।
यसअघि बोर्ड अध्यक्षका लागि आवेदन आह्वान देखाउने दाँत मात्र बनेको थियो । आवेदन आह्वान गरेर सरकारमा रहेको पार्टी वा सञ्चारमन्त्री निकट व्यक्तिलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने परिपाटी नै बनेको थियो । यसपटक पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट केही फिल्मकर्मीहरूले बोर्ड अध्यक्षका लागि राजनीतिक भेटघाट गरिरहेको चर्चा छ ।

