Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुई वर्षको ट्रेनिङपछि ‘साम्राज्य’मा भित्रिए अमरप्रताप

फिल्मीखबर, काठमाडौं, 2026/09/15

Amar Pratap Shresttha

 

नेपाली फिल्मका उदयमान कलाकार हुन्, अमरप्रताप श्रेष्ठ । केही नाटक र ‘मोदीबेनी’ फिल्ममा अभिनय गरिसकेका उनी दुई वर्षदेखि भने गुमनामजस्तै थिए । तर, मंगलबार उनी गुमनाम रहनुको रहस्य खुलेको छ । उनले दुई वर्षदेखि अभिनय, फिटनेस र एक्सनको ट्रेनिङ लिइरहेका थिए । उनको यो मिहिनेत फिल्म ‘द राइज अफ साम्राज्य’का लागि थियो । 

उनको ट्रेनिङ पूरा भएसँगै मंगलबार उनलाई फिल्मको मुख्य अभिनेताको रूपमा चिनाइएको छ । फिल्ममा उनी अनुबन्धित भएको जानकारी दिँदै निर्देशक सौरभ चौधरीले फेसबुकमा लेखेका छन्, ‘दुई वर्षदेखि मेरो निगरानीमा एउटा योद्धा तयार हुँदै थियो । एक्सन, फिटनेस र अभिनय । हरेक दिनको कठोर प्रशिक्षण, पसिना र मिहिनेतले अब योद्धा पूर्ण रूपमा तयार छ ।’

असोज ४ गते पूर्वको कोशी ब्यारेकबाट छायांकन सुरु हुन लागेको फिल्ममा यसअघि सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल र अञ्जना बराइली अनुबन्धित भइसकेका छन् । यसरी हेर्दा फिल्ममा कलाकारको लाइनअप बलियो देखिएको छ । यही साता फिल्मका अर्का मुख्य अभिनेतालाई पनि चिनाउने तयारीमा निर्माण पक्ष छ । 

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कथा तथा पटकथा ‘कर्नाली ब्लुज’का लेखक बुद्धिसागरले तयार पारेका हुन् । फिल्मको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् भने सह-निर्मातामा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् । मानकृष्ण महर्जनको डीओपी रहने फिल्ममा श्री श्रेष्ठले द्वन्द्व निर्देशन गर्नेछन् ।